न्युयोर्क — युद्धविरामको निरन्तर पहलका बाबजुद युक्रेनमाथि रुसी आक्रमण रोकिएको छैन। यही कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी समकक्षी भ्लादिमिर पुटिनप्रति खुलेरै असन्तुष्ट देखिएका छन्।

आइतबार ट्रम्पले युक्रेनलाई अत्यावश्यक मानिएको ‘प्याट्रियट एयर डिफेन्स सिस्टम’ पठाउने घोषणा गर्दै रुसमाथि थप कडा प्रतिबन्ध लगाउने संकेत पनि दिए। “हामी प्याट्रियट पठाउनेछौं, जसको उनीहरूलाई अत्यन्त आवश्यकता छ,” ट्रम्पले भने, तर युक्रेनलाई थप कति हतियार दिने भन्नेबारे स्पष्ट भने गरेनन्।

विज्ञापन

ट्रम्पले न्युजर्सीमा आयोजित फिफा क्लब विश्वकप फाइनलपछि पत्रकारहरूसँग कुरा गर्दै युक्रेनको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका हुन्। सोमबार वासिङ्टनमा नाटो महासचिव मार्क रुटसँगको कूटनीतिक भेटअघि उनले यस्तो घोषणा गरेका हुन्।

अमेरिकी विशेषदूतको युक्रेन भ्रमणपश्चात ट्रम्पले हतियार सहयोगको निर्णय सार्वजनिक गरेका हुन्। नयाँ सम्झौताअनुसार युक्रेनलाई पठाइने केही हतियारहरूको लागत नाटोले अमेरिका तर्फ भुक्तानी गर्नेछ। “हामी अत्याधुनिक सैन्य सामग्री पठाउनेछौं र यसको पूरै भुक्तानी नाटोले गर्नेछ,” ट्रम्पले भने, “यो हामीका लागि व्यापार हुनेछ।”

पुटिनप्रति निराशा व्यक्त गर्दै ट्रम्पले भने, “पुटिन दिनभर मीठो बोल्छन् अनि साँझ परेपछि बम प्रहार गर्छन्। धेरैलाई चकित पार्ने काम गरेका छन्।”

गत जनवरीमा दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेपछि ट्रम्पले युरोपेली सहयोगीहरूको असहमति बावजुद रुसमाथिको प्रतिबन्ध फुकुवा गर्दै वार्ता गर्ने संकेत दिएका थिए। तर रुसले युद्धविरामको प्रस्तावलाई बेवास्ता गर्दै आक्रमण जारी राखेपछि ट्रम्प प्रतिबन्धमा फर्किएका हुन्।

एक पत्रकारको प्रश्नमा “के नयाँ प्रतिबन्धको घोषणा आउँदैछ?” भन्नेमा ट्रम्पले भने, “भोलि के हुन्छ, त्यसअनुसार अघि बढ्छौं।” उनले नाटो महासचिवसँगको भेटलाई निकै महत्त्वपूर्ण भन्दै यो सन्दर्भमा निर्णय लिने संकेत गरेका हुन्।

त्यसैदिन अमेरिकी सिनेटरहरूले पनि ट्रम्पलाई रुसविरुद्ध कडा प्रतिबन्ध लगाउने द्विदलीय विधेयक प्रस्तुत गरेका छन्। रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले सीबीएस न्युजलाई भने, “यो विधेयकले ट्रम्पलाई पुटिनको अर्थतन्त्र तथा युद्ध मशीनलाई सहयोग गर्ने सबै राष्ट्रहरूमा निशाना बनाउने अधिकार दिनेछ।”

ग्राहमका अनुसार उक्त विधेयकले यस्ता देशहरूमा ५०० प्रतिशतसम्मको आयात कर लगाउने शक्ति दिनेछ। यसमा चीन, भारत र ब्राजिल जस्ता रुसी सामग्री खरिद गर्ने देशहरू पनि पर्न सक्नेछ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि ट्रम्पको सम्भावित प्रतिबन्धलाई समर्थन गर्दै एक्स (Twitter) मार्फत लेखेका छन्, “यो प्रस्तावित विधेयक शान्तिका लागि प्रभावकारी कूटनीतिक पहल बन्न सक्छ र यसले सबैलाई फाइदा पुर्‍याउनेछ।”

डेमोक्रेटिक सिनेटर रिचर्ड ब्लुमेन्थलले पनि सोमबार राति नाटो महासचिवसँग भेट गर्ने तय भएको छ। उनले संयुक्त राज्य अमेरिकामा फ्रिज गरिएको रुसी सम्पत्तिको पहुँच युक्रेनलाई दिलाउनेबारे छलफल गर्ने बताएका छन्। “अमेरिकासँग रहेको पाँच अर्ब डलरसम्मको रुसी सम्पत्ति युक्रेनका लागि खोल्न सकिन्छ, र मलाई लाग्छ अब समय आएको छ,” उनले भने। (एजेन्सी)

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here