वीरगंज, ३१ असार – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आज पदबाट राजीनामा दिएका छन्। केही दिनदेखि बिचौलियासँग घूसको संवाद सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा तानिएका थिए।
मन्त्री गुप्ताले आफूले राजीनामा दिएको कुरा स्वयम् सामाजिक सञ्जाल फेसबुकमा लेखेर जानकारी गराएका छन्। उनले प्रधानमन्त्री निवास बालुवाटारमा गएर राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले पनि पुष्टि गरेको समाचार प्राप्त भएको छ।
गुप्ता फेसबुकमा लेखेका छन्, “कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए। अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु। प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु। अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिबद्धता साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु।”
गुप्ता र बिचौलियाबीचको आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि यो विवाद थप चर्किएको थियो। यस अडियोलाई उनले अस्विकार गर्दै आएका छन् र आरोपको सत्यतथ्य बाहिर ल्याउनको लागि अनुसन्धान गर्न सहयोग पुर्याउने बताएका छन्।

























