वीरगंज, ३१ असार – हालको बिकराल पानी सङ्कटको घडीमा श्रीसियास्थित मानवसेवा आश्रमले एक महत्वपूर्ण कदम उठाउँदै झन्डै २५ घरधुरीलाई पानी सेवा पुर्याउन शुरु गरेको छ।
गत वर्ष वीरगंज महानगरपालिकाबाट जडान गरिएको बोरिंगको पानी आश्रमसँगै वरिपरि सडक छेउमा १५/२० वटा धारा जडान गरेर स्थानिय बासिन्दालाई समेत निःशुल्क पानी उपलब्ध गराइएको हो। यस पहलले यहाँका नागरिकलाई राहत प्रदान गरिरहेको छ।
मानवसेवा आश्रमका सामाजिक अभियन्ता देवेश गुप्ताले यस प्रयासको बारेमा भने, “यो सङ्कटको बेला हामी सबैले एकअर्काको साथ दिन जरुरी छ। पानी जीवन हो र सेवा मानवताको मूल रूप हो।”
हालको समयसँगै, वीरगंजसमेत मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा पानीको आपूर्ति समस्या विकराल हुँदै गएको छ। वीरगंजमा पनि पानीको अत्यधिक अभाव रहेको छ, जसले गर्दा यहाँका बासिन्दा दैनिक जीवनमा कठिनाइको सामना गरिरहेका छन्। स्थानीय बासिन्दाहरूका अनुसार पानी आपूर्ति नभएको बेला उनीहरूको जीवन अस्तव्यस्त हुने अवस्थामा पुगिरहेको छ।
मानवसेवा आश्रमले आफ्नो सामाजिक उत्तरदायित्वलाई निभाउँदै, पानीको आवश्यकता पुर्ति गर्न महत्वपूर्ण कदम चालेको छ। यस कठिन समयमा, आश्रम वरपरका वासिन्दाहरु सन्तुष्ट देखिन्छन् । यो आश्रमको प्रयास समाजमा एक सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढिरहेको छ।
पानी जीवन हो र यस सङ्कटमा हरेकले आआफ्नो योगदान दिनु जरुरी छ। मानवसेवा आश्रमले दिएको यो सानो प्रयास ठूलो प्रभाव पार्दै गएको छ, र यसले समाजलाई एकजुट गर्न मद्दत पुर्याएको छ।

























