• राजेश मिश्र 

पर्सा जिल्लाको एसईई–२०८१ को नतिजा सार्वजनिक भएपछि शिक्षा प्रणालीमा गहिरो प्रश्न उठेको छ। जिल्लामा फेल हुने विद्यार्थीको संख्या उच्च देखिएपछि वीर​गंजमा आयोजित ​एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले शिक्षकहरूलाई निशानामा राख्दै कडा टिप्पणी गरेका थिए। यद्यपि कमजोर नतिजाको दोष केवल शिक्षक​माथि थोपर्नु न्यायसंगत ठहरिंदैन।

विज्ञापन

शिक्षक शिक्षाको मेरुदण्ड हुन्, तर उनीहरूलाई सबै दोष थोपर्दा समग्र शैक्षिक प्रणालीको समस्या ओझेलमा पर्न सक्छ। विद्यालयमा शिक्षकहरू न्यून तलब, स्रोतसाधनको अभाव र प्रशासनिक दबाबबीच काम गरिरहेका छन्। यो स्वीकार गर्नुपर्ने सत्य हो। तर शिक्षा केवल शिक्षकको कर्तव्यमा सीमित छैन।

विद्यार्थीहरूको पनि उत्तरदायित्व हुन्छ। अहिलेका विद्यार्थीहरू पढाइभन्दा मोबाइल र सामाजिक सञ्जालमा बढी व्यस्त छन्। धुम्रपान, मद्यपान र अनुशासनहीन गतिविधिमा समेत संलग्न हुने अवस्था देखिएको छ। विद्यालय पोशाक लगाएर मोबाइल बोकेर घुम्ने, तर किताबको पाना नपल्टाउने विद्यार्थीबाट असल नतिजाको अपेक्षा कसरी गर्न सकिन्छ?

यस्तै, अभिभावकहरूको भूमिकामा पनि परिवर्तन आएको छ। विगतमा गल्ती गर्ने विद्यार्थीलाई शिक्षकले सजाय दिन्थे भने अभिभावकले पनि समर्थन गर्थे। अहिले चाहिँ बालकको झुटो गुनासोलाई सत्य ठानी शिक्षकमाथि दोषारोपण गर्ने प्रवृत्ति हावी छ। यसले शिक्षकको मनोबल गिराउँछ र पठनपाठनमा प्रत्यक्ष असर पार्दछ।

नियामक निकायहरू, स्थानीय तह र शिक्षा समन्वय इकाइहरूले पनि आफ्नो भूमिका गम्भीर रूपमा निर्वाह गर्न सकेका छैनन्। विद्यालयहरूको अनुगमन, मूल्यांकन र शिक्षण गुणस्तरमा सुधार ल्याउने प्रयासहरू कागजमा सीमित छन्।

त्यसैले एसईईको नतिजा सुधार्न शिक्षक मात्र होइन, सबै पक्षले आत्मसमीक्षा गर्नुपर्छ। शिक्षकले सिर्जनात्मक र उत्तरदायी शिक्षण शैली अपनाउनु पर्छ। विद्यार्थीले पढाइलाई प्राथमिकता दिनुपर्छ। अभिभावकले संतानको अनुशासन र पठनपाठनमा निगरानी राख्नुपर्छ। र, राज्य तथा शिक्षा निकायहरूले प्रभावकारी निगरानी र सुधारका कार्यक्रम लागू गर्नुपर्छ।

केवल शिक्षकमाथि खनिनु कति जायज ? त्यस कारण एसईईको नतिजा सुधार्न दोषको होइन, दायित्वको खोजी आवश्यक छ। शिक्षा सबैको साझा जिम्मेवारी हो — शिक्षक, विद्यार्थी, अभिभावक र सरकार सबैले आआफ्नो भूमिका ईमानदारीका साथ निभाउँदा मात्र सकारात्मक परिवर्तन सम्भव हुन्छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here