वीरगंज, ०१ साउन – वीरगंज महानगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायालाईसिस गरिरहेका, क्यान्सर पीडित तथा मेरुदण्ड पक्षघात भएका बिरामीहरूलाई दिइँदै आएको औषधि उपचार खर्च बापतको मासिक सहायता रकम रु ५,००० नयाँ आर्थिक वर्ष २०८२/०८३ का लागि नवीकरण गर्न सम्बन्धित वडा कार्यालयहरूमा निवेदन दिन अनुरोध गरेको छ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार २०७८ को कार्यविधिअनुसार प्रदान गरिँदै आएको सो मासिक सेवा लिन चाहने पुराना लाभग्राहीहरूले आर्थिक वर्षको सुरुवातमै वडाबाट अनिवार्य रूपमा नवीकरण गर्नु पर्नेछ।

विज्ञापन

उक्त नवीकरणका लागि लाभग्राहीहरूले निम्न कागजातहरू वडा कार्यालयमा पेश गर्नु पर्नेछः

  • डायालाईसिस वा क्यान्सर उपचारमा रहेका बिरामीहरूले हाल उपचार गरिएको अस्पतालको फलोअप विवरण, बिरामी पुर्जी तथा अन्य सम्बन्धित कागजातहरू प्रत्येक ३-३ महिनामा बुझाउनु पर्नेछ।
  • मृगौला प्रत्यारोपण गरेका बिरामीहरूले प्रत्यारोपणको प्रमाण कागजातसहित निवेदन दिनुपर्नेछ।
  • मेरुदण्ड पक्षघात भएका बिरामीहरूले चिकित्सकीय प्रमाणपत्र वा रातो कार्डको प्रतिलिपिसहित निवेदन दिनुपर्नेछ।

समयमै आवश्यक कागजात नपु-याई नवीकरण नगरेमा ती लाभग्राहीहरूको लगत स्वतः कट्टा हुने जनाएको छ। यसरी नाम हटेमा भविष्यमा सेवा प्राप्त गर्न पुनः नयाँ लाभग्राहीका रूपमा निवेदन दिनुपर्ने महानगरले स्पष्ट पारेको छ।

वडा कार्यालयको सिफारिसबिना र आवश्यक प्रमाणहरू नपुगेका फाइलहरूमा रकम निकासा नहुने भएकाले महानगरपालिकाले सबै लाभग्राहीलाई समयमै वडा कार्यालयमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here