वीरगंज, ०१ साउन — लामो समयदेखि खानेपानीको चरम अभाव भोग्दै आएका वीरगंजवासीका लागि सुखद खबर आएको छ। आज वीरगंज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीच ऐतिहासिक महत्वको खानेपानी सेवा विस्तारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
विगतका असहज अवस्थालाई अन्त्य गर्दै स्वच्छ, सुरक्षित र दिगो खानेपानीलाई हरेक घरधुरीमा पुर्याउने उद्देश्यका साथ उक्त समझदारी लागू गरिएको हो। वीरगंज महानगर प्रमुख राजेशमान सिंहको विशेष पहल र नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवको सक्रिय समन्वयमा सम्भव भएको यो समझदारी पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार आजैदेखि लागू हुने यो योजना अन्तर्गत नेपाल खानेपानी संस्थानले सेवा विस्तारको प्रमुख जिम्मेवारी लिनेछ। धरौटी रकम महानगरपालिकाबाट प्राप्त भएपछि संस्थानले नयाँ धारा जडान, पाइपलाइनको मर्मत, विस्तार र गुणस्तरीय पानी आपूर्ति गर्नेछ। साथै जनचेतनामूलक कार्यक्रम, गुनासो समाधान र सेवालाई थप पारदर्शी बनाउन आवश्यक पहल गर्नेछ।
महानगरपालिकाले अग्रिम रकम खातामा जम्मा गर्ने, मासिक हिसाब मिलाएर भुक्तानी सुनिश्चित गर्ने, महसुल सङ्कलन प्रणालीमा सहजता ल्याउने र कानुनी प्रावधानबारे जानकारी दिने जिम्मेवारी लिनेछ। यसरी महानगर र संस्थानबीचको सहकार्यले सम्पूर्ण महानगर क्षेत्रलाई लाभ पुर्याउने विश्वास लिइएको छ।
समझदारीमा खानेपानी सेवामा व्यापक सुधार, जलवायु परिवर्तनका कारण देखिएको संकटको दीर्घकालीन समाधान, जडान प्रक्रिया सरल बनाउने र गुणस्तरमा सुधार ल्याउने स्पष्ट लक्ष्य तय गरिएको छ। आर्थिक रूपमा कमजोर वर्गका लागि सेवा पहुँचयोग्य बनाउने तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्ने पनि मुख्य उद्देश्य हो।
कार्यक्रममा मन्त्री यादवले दिनप्रतिदिन बढ्दो पानी अभावले जनजीवन अस्तव्यस्त बनाएको उल्लेख गर्दै यस समझदारीमार्फत दीर्घकालीन समाधान खोजिने बताए। उनले मन्त्रालयले कार्यान्वयन सहज बनाउने संयोजनकर्ता बन्ने प्रतिबद्धता पनि जनाए।
समझदारी अनुसार परियोजना साउन ०१ गतेदेखि २०८४ पौष मसान्तसम्म लागू हुनेछ भने आवश्यकता अनुसार नवीकरण गर्न सकिनेछ। कुनै विवाद उत्पन्न भएमा आपसी छलफलबाट समाधान गर्ने व्यवस्था पनि पत्रमा स्पष्ट गरिएको छ।
महानगर प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले यो समझदारीलाई वीरगंजको खानेपानी अधिकार सुनिश्चित गर्ने दिशामा ऐतिहासिक कदम भनेका छन्। उनका अनुसार स्वच्छ पानीको पहुँचले जनस्वास्थ्यमा मात्र नभई शहरी विकासमा समेत सकारात्मक प्रभाव पार्नेछ।
संस्थानका महाप्रबन्धक ढकालले वीरगंज शाखामा जनशक्ति वृद्धि गर्ने, सेवा प्रभावकारी बनाउने र सहकार्यलाई अझ मजबुत बनाउने अठोट व्यक्त गरे। उपमेयर इम्तियाज आलमले यो कदमले बासिन्दाहरूलाई राहत दिने र समावेशी विकासमा टेवा पुर्याउने बताए।
समझदारीपत्रमा हस्ताक्षरको अवसरमा मन्त्री प्रदीप यादव, उप–प्रमुख इम्तियाज आलम, विभागीय महानिर्देशक रामकुमार श्रेष्ठ, शाखा प्रमुख प्रविण साह लगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।
यस समझदारीले वीरगंज महानगरवासीहरूका लागि खानेपानी मात्र होइन, विश्वास, सहकार्य र दिगोपनाको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

























