वीरगंज, ०१ साउन — पछिल्लो समय पर्सा जिल्लाका विभिन्न स्थानमा देखिएको खानेपानीको अभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, पर्साले ट्याङ्करमार्फत आपत्कालीन खानेपानी वितरण शुरु गरेको छ।
मधेश प्रदेश सरकारबाट उपलब्ध गराइएका ट्याङ्करहरू नेपाली सेना श्रीजंग गण, पर्साको सहकार्यमा परिचालन गरिएको हो। जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार ती ट्याङ्करमार्फत विहान ५ बजेदेखि राति १० बजेसम्म पानी वितरण गरिने जनाइएको छ।
खानेपानीको अभाव झेलिरहेका व्यक्तिहरू तथा टोलवासीहरूलाई टोल फ्री हटलाइन नम्बर १८१०५०००२१७ मा फोन गरी जानकारी गराउन जिल्ला प्रशासनले अनुरोध गरेको छ। त्यस्तै, आवश्यक जानकारी वा गुनासोका लागि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको मोबाइल नम्बर ९८५५०७७७७७ मा पनि सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले यस अभियानमा नागरिकको सहयोग र समन्वयको अपेक्षा गरेको छ।

























