वीरगंज, ०२ साउन – राष्ट्रिय एकता अभियान पर्साद्वारा वीरगंजमा आयोजित “जेहादी आतंकवाद र मधेश – नेपालको सुरक्षा चुनौती” विषयक बहस कार्यक्रममा वक्ताहरूले भारत–नेपाल खुला सिमानाको दुरुपयोग गर्दै पाकिस्तान समर्थित आतंकवादी समूहहरूले नेपाललाई आन्तरिक सुरक्षा चुनौती बनाउँदै लगेको गम्भीर चिन्ता व्यक्त गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले पाकिस्तानी आतंककारी गतिविधिविरुद्ध नेपाल सतर्क रहनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “पाकिस्तान संसारको एक मात्र यस्तो देश हो, जसले आतंकवादको कारखाना मात्र चलाउँछ र विश्वभर सप्लाई गर्छ।” उनका अनुसार नेपालस्थित पाकिस्तानी दूतावासका केही कर्मचारीहरू यस्तो गतिविधिमा प्रत्यक्ष संलग्न छन्, र विगतमा नेपाल सरकारले तिनीहरूलाई फिर्ता पनि गरिसकेको तथ्य छ। त्यसैले मधेश र नेपालको सुरक्षाका लागि आतंकवादी कारखाना चलाउने पाकिस्तानको दूतावास नेपालबाट हटाइनु पर्ने माग यादवले राखे।
कार्यक्रमका अन्य प्रमुख वक्ताहरू—राष्ट्रिय एकता अभियानका केन्द्रीय उपाध्यक्ष एवं संविधानसभा सदस्य भूपेन्द्र चौधरी तथा प्राध्यापक डा. देवेन्द्र मिश्रले आतंकवादका बदलिँदो रूप र त्यसको क्षेत्रीय प्रभावबारे आफ्ना धारणा राखे।
वक्ताहरूले सन् १९८० को दशकदेखि नै पाकिस्तानको गुप्तचर संस्था ISI ले भारतको कश्मीरमा आतंक फैलाउन नेपालभित्र घुसपैठ तथा आर्थिक र धार्मिक नेटवर्क निर्माण गरेको प्रमाणसहित चर्चा गरे। उनीहरूको भनाइमा, भारत–नेपाल खुला सिमानाको दुरुपयोग गर्दै पाकिस्तानी आतंकी सञ्जालले नेपालको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र अन्तर्राष्ट्रिय छविमाथि प्रश्न उठाइरहेको छ।
कार्यक्रमका प्रमुख अतिथि यादवले भने, “नेपालमा आतंकवादको स्थायी श्रृङ्खला नबनाओस् भन्ने हाम्रो साझा जिम्मेवारी हो। अब हामीले खुला रूपमा विश्व समुदाय समक्ष आवाज उठाउनु पर्छ कि नेपाल पाकिस्तानी आतंकको भुइँचालो बन्ने छैन।”
उनले आतंककारी अब्दुल करिम टुण्डा, सैफुल्लाह, यासिन भटकलजस्ता कुख्यात आतंककारीहरूले नेपाललाई लुक्ने, योजना बनाउने र पासपोर्ट परिवर्तन गर्ने सुरक्षाविहीन स्थल बनाएको ऐतिहासिक घटनाहरू स्मरण गराए। नेपाल प्रहरीले यिनीहरूलाई पक्राउ गरे पनि नेपालभित्र यस्तो आतंकी उपस्थिति हुनु नै राष्ट्रिय सुरक्षाको गम्भीर चुनौती भएको उनको तर्क थियो।
वक्ताहरूले पछिल्लो समय जम्मु–कश्मीरको पहलगाममा नेपाली युवक सुदीप नेउपानेको हत्या पाकिस्तान–प्रेरित आतंकवादको एक नमुना भएको टिप्पणी गरे। “यो केवल एक दुर्घटना होइन,” यादवले भने, “पाकिस्तानको आतंकवादले नेपालका युवालाई कस्तो प्रकारको खतरा दिन सक्छ भन्ने चेतावनी पनि हो।”
प्राध्यापक मिश्रले भने, “अब हाम्रो कूटनीतिक नीति स्पष्ट हुनुपर्छ – नेपाल कुनै पनि आतंकवादी संगठनको लुकाउने भूमिमा परिणत हुने छैन।” उनले पाकिस्तानले नेपाललाई भारत–नेपाल सम्बन्धमा असहजता ल्याउने उद्देश्यले लगातार प्रयोग गरिरहेको बताए।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भने, “सार्कको निष्क्रियता पाकिस्तानकै कारणले हो, जसले क्षेत्रीय एकतालाई संकटमा पारेको छ। सार्क आज पाकिस्तानले आतंकवादको राजनीति गरेकै कारण कोमामा पुगेको संस्था बनेको छ।”
यादवले थपे, “पाकिस्तानी आतंकी प्रवृत्तिविरुद्ध अब नेपालले पनि स्पष्ट पक्ष लिनुपर्छ। यसका लागि सञ्चारकर्मी, नागरिक समाज, सरकार र सुरक्षा निकायले एकजुट भएर अन्तर्राष्ट्रिय जनमत निर्माण गर्नुपर्छ।”
कार्यक्रम राष्ट्रिय एकता अभियान पर्साका संयोजक बिकाउ भण्डारी थारूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा समाजसेवी डा. अजय यादव, प्रदेश सभाका प्रत्याशी शिवकुमार साह, नेपाली कांग्रेसका लोकप्रिय युवा नेता राकेश यादवसहित पत्रकार, सुरक्षा विश्लेषक, अनुसन्धानकर्ता, पूर्व अधिकारी, राजनीतिक विश्लेषक तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
























