वीरगंज, २३ साउन – मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि रातिसम्म देशभर सामान्यतया बदली रहने जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको हो। साथै, बाँकी पहाडी भूभागका केही स्थान र मधेश प्रदेश तथा अन्य तराई भूभागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
दिउँसोको मौसममा लुम्बिनी प्रदेशको तराई, कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको चेतावनी दिइएको छ। आज राति मधेश प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ भने बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा समेत वर्षा हुन सक्ने देखिएको छ।
साथै, राति कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको विभागको भनाइ छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई क्षेत्रमा अवस्थित रहेको र देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर रहेको जानकारी विभागले दिएको छ।
























