वीरगंज, ०४ साउन – हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशभर साधारणतया बदली रहनेछ भने धेरै स्थानमा वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा कतिपय स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज रातिको अवस्था पनि उस्तै रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने केही स्थानमा भारी वर्षा पनि हुन सक्छ।
मौसमविद्हरूले मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा केही उत्तर सरेको जनाएका छन्। यसले गर्दा पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना अझ बढेको हो।
सावधानी अपनाउन सुझाव
मौसमविद्हरूले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो तथा सडक अबरुद्ध हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। विशेष गरी पहाडी क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन र सतही बहाव भएका नदी–नालाबाट टाढा रहन नागरिकलाई आग्रह गरिएको छ।

























