वीरगंज, ०६ साउन – वीरगंजस्थित सिद्धार्थ माविको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी मङ्गलवार वृक्षारोपण भएको छ।
कार्यक्रममा नेपाली काङ्ग्रेस देश, जनता र प्रजातन्त्रको लागि राणा शासनदेखि तीन राजाहरूको निरंकुश शासनविरुद्ध लडेर प्राप्त पार्टी भएको मधेश प्रदेशका भूमि, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षत्रीले बताएका छन्।
बिपी कोइरालाको ४३औं स्मृति दिवसका अवसरमा वीरगंजमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस जनताको पहिलो पार्टी भएको र त्यसैले जनताले ठूलो अपेक्षा राख्ने गरेको उल्लेख गरे।
उनले भने, “राजावादी र नवगठित केही पार्टीहरूले कांग्रेसविरुद्ध भ्रामक प्रचार गरिरहेका छन्, तर इतिहासले देखाउँछ – राजाले जननिर्वाचित बिपी सरकार फाल्नु, महिला बलात्कार हत्या, मन्दिरका मूर्ति चोरी, पत्रकारमाथि गोली, कलाकारको हत्या – यस्ता अक्षम्य घटनाहरूले राजशाहीको क्रूरता प्रमाणित गरेका छन्।”
उनले अहिलेको पुस्ताले त्यस्ता इतिहास बिर्सन नहुनेमा जोड दिँदै भने, “आज गाउँगाउँमा बाटो, पुल, स्वास्थ्य सेवा, कृषि बजार विस्तार कांग्रेस नेतृत्वको पहलमा सम्भव भएको हो। पाँच सयभन्दा बढी उद्योग खुलेका छन्, जसले रोजगारी सिर्जना गरेको छ।”
मन्त्री क्षत्रीले मधेस प्रदेश अहिले वातावरणीय सङ्कटमा परेको र चरम पानी अभावको कारण सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिँदै खानेपानी र सिँचाइको समुचित व्यवस्थामा सरकार लागेको बताए। उनले एक व्यक्ति एक रुख, एक घर एक रुखको अवधारणा अपनाउन सबैलाई आग्रह गरे।
कार्यक्रम नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं १ का सभापति अनिल सिंहको अध्यक्षता र प्रमुख अतिथि मन्त्री जनार्दन सिंह क्षेत्रीको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा उपसभापति रामनारायण कुर्मी, वीरगंज मनपाका उपमेयर इम्तियाज आलम, पूर्व उपसभापति प्रकाश उपाध्याय, दिना गुप्ता, नेता लखनलाल साह, हुकुमसिंह राजपुत, हबिब मियाँ, प्रेमशंकर सिंह, किरण शर्मा, तरुण दलका रमेश यादव, प्रधानाध्यापक विनोद मेहता लगायत पार्टी तथा भातृ सङ्गठनका पदाधिकारीहरू, शिक्षक, सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।
उपसभापति कुर्मीले बिपी कोइरालाको योगदानको स्मरण गर्दै भने, “उहाँले राणा, राजावादी सबैसँग जनताको पक्षमा लडेर आजको गणतन्त्रको आधार तयार गर्नुभएको हो। उहाँ नै साँचो जननेता हुनुहुन्थ्यो।”
कार्यक्रममा आँप, अम्बा, अम्ला, निम, टिपलगायतका बोटविरुवा रोपिएको थियो भने कार्यक्रमको सहजीकरण सचिव अजय ठाकुरले गरेका थिए।

























