वीरगंज, १० साउन – पर्साको धोबिनी गाउँपालिका–५ जगरनाथपुर टोलका आगलगी पीडित अशेसर दासलाई युवा समाजसेवी प्रकाश बाहेतीले दुई बोरा चामल सहयोग गरेका छन्। सहयोग सामग्री वीरगंजस्थित नारायणी अस्पताल प्राङ्गणमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो।

समाजसेवी बाहेती माहेश्वरी समाज पर्साका अध्यक्ष, वीरगंज समाज सेवा संस्थाका सचिव तथा नारायणी अस्पतालमा सञ्चालित निश्शुल्क भोजन कार्यक्रमका संयोजक हुन्। उनी मानव अधिकारकर्मी एवं विभिन्न सामाजिक सङ्घ-संस्था तथा क्लबहरूसँग आबद्ध रहँदै समाजसेवामा सक्रिय छन्।

विज्ञापन

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै बाहेतीले “सेवा नै धर्म हो” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै दैवीप्रकोप, विपद्, अभाव र सङ्कटमा परेका नागरिकलाई सकेको सहयोग गर्दै आएको बताए। उनले भने, “हामी सबैले आआफ्नो आम्दानीको २ देखि ५ प्रतिशत हिस्सा दिन–दुखीका लागि छुट्याउने बानी बसाल्नुपर्छ, जसले समाजमा मानवता बलियो बन्छ।”

आगलगी पीडित अशेसर दासले चट्याङका कारण घरमा आगलागी भई नगद, सुनचाँदी, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, टिभी, सिलाइ मेसिन, पंखा, बिजुलीको मिटरलगायत सम्पूर्ण सामान जलेर करिब रु ५ लाख रुपैयाँ बराबरको क्षति भएको बताएका छन्। मजदुरी गरेर गुजारा चलाउँदै आएका दासले यो सहयोग आफू र परिवारका लागि निकै महत्वपूर्ण भएको उल्लेख गरे।

यसअघि वीरगंज कपडा बैङ्कले उनलाई २ बोरा कपडा र नगद रु ६ हजार ५ सय रुपैयाँ सहयोग गरेको थियो। कपडा बैङ्कका अध्यक्ष लालबाबु सिंहले सोही घटनासम्बन्धी समाचारबाट प्रभावित भई बाहेतीले चामल सहयोग गर्न चाहेको जानकारी दिए। उनले यस्ता कार्यले समाजमा आपसी सहकार्य र मानवीयता बलियो बनाउने उल्लेख गर्दै थप सहयोगको लागि सबैलाई आह्वान गरे।

सहयोग कार्यक्रममा सहभागी समाजसेवी विनोद सर्राफ, राजेन्द्र भट्टराईलगायतले समाजसेवी बाहेतीको मानवीय भावनाको खुलेर प्रशंसा गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here