वीरगंज, १० साउन — वीरगंज समाज सेवाको अगुवाइमा नारायणी अस्पताल परिसरमा ६३औं साप्ताहिक निश्शुल्क भोजन कार्यक्रम शनिवार बिहान सभ्य र भव्य रुपमा सम्पन्न भएको छ।
गत वर्षदेखि हरेक शनिवार बिहान साढे ९ बजेदेखि सञ्चालन हुँदै आएको यो सेवा कार्यक्रम अन्तर्गत अस्पतालमा उपचाररत विपन्न बिरामी, कुरुवा, असहाय नागरिक तथा रिक्सा–ईरिक्सा चालक र यात्रुहरूलाई सफा, स्वादिलो र पोषिलो शाकाहारी भोजन खुवाइँदै आएको छ।
सेवा कार्यक्रममा संस्थाका सचिव समाजसेवी प्रकाश बाहेतीले “सेवा नै धर्म हो” भन्ने मूलमन्त्रका साथ विगत एक वर्षभन्दा बढी समयदेखि हरेक हप्ता साढे चारदेखि ५ सय जना सेवाग्राहीले लाभ लिँदै आएको जानकारी दिए। “दिनदुखीको अनुहारमा हाँसो ल्याउनु नै हाम्रो लागि साँचो सन्तुष्टि हो,” उनले भने, “यो अभियानमा इच्छुक जो–कोहीले सेवा सहयोग गर्न सक्नुहुन्छ।”
आजको भोजनमा भात, दाल, आलु–परवलको तरकारी, हरियो खुर्सानीको अचार समावेश थियो। स्वयंसेवकहरूले सबैलाई प्रेमपूर्वक बोलाइ–बोलाइ भोजन खुवाएका थिए।
कार्यक्रममा समाजका उपाध्यक्ष मनोजप्रसाद रौनियार, सचिव प्रकाश बाहेती, कोषाध्यक्ष विनोद सर्राफ, सदस्यहरू मदनप्रसाद गुप्ता, बैजनाथ साह, लालबाबु सिंह, निसान्त लाठ, राजेन्द्र भट्टराई, दामोदर गिरी लगायतको सक्रिय सहभागिता रहेको थियो।
वीरगंज समाज सेवाले यस्तो मानवीय सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

























