वीरगंज, २० साउन – लायन्स क्लब अफ सेन्ट्रल सिटि वीरगंजले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंज कपडा बैङ्कलाई कपडा सहयोग गरेको छ। क्लबकी अध्यक्ष सुशीला साहको नेतृत्वमा मङ्गलवार २ बोरा, २ कार्टुन र ६ झोला कपडा वीरगंज कपडा बैंकमा हस्तान्तरण गरिएको हो।
वीरगंज-८ स्थित कपडा बैङ्कको कार्यालयमा आयोजित कार्यक्रममा क्लबकी अध्यक्ष साहसहित जोन पर्सन डा लक्ष्मी थापा, डिन्ट्रिक चेयर पर्सन गुड्डी जोशी, उपाध्यक्ष देवन्ती साह, सचिव कविता खड्का तथा सदस्यहरू सरिता सिंह, सुगन्धी कुश्वाहा, सलोनी शिखा, जयन्ती चतुर्वेदी र रेखा ओझाको उपस्थिति रहेको थियो।
यसैगरी कपडा बैङ्कका सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय, श्रवण बहादुर रायमाझी, सचिव कन्हैया पटेल, कोषाध्यक्ष मनोज मिश्रा र सदस्यहरू नवराज भट्टराई, कुन्दन मिश्रा लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष साहले “वीरगंज कपडा बैङ्कले विगत केही वर्षदेखि असहाय, बिपन्न, आगलागी र बाढी पीडितलाई लक्षित गरी गरिरहेको निस्वार्थ सेवाभावले हामी सबै प्रभावित भएका छौँ,” भन्दै क्लबले यसअघि पनि कपडा सहयोग गरेको र आगामी दिनमा पनि निरन्तर साथ रहने प्रतिबद्धता जनाइन्।
कपडा बैङ्कका सल्लाहकार अधिवक्ता उपाध्यायले “तपाईं सँग धेरै छ भने दिनुहोस्, छैन भने लानुहोस्” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै, कोही पनि नाङ्गो नरहोस् र सबैले सुकिला तथा जाडोमा न्यानो कपडा लगाउन पाउँन् भन्ने उद्देश्यले कपडा बैङ्कले सेवा दिँदै आएको बताए।
बैङ्कका अध्यक्ष लालबाबु सिंहले लायन्स क्लबले विगतमा पनि विभिन्न सेवा कार्यक्रमहरू मार्फत समाजमा सकारात्मक योगदान पुर्याउँदै आएको उल्लेख गर्दै नियमित सहयोगप्रति आभार व्यक्त गरे।

























