वीरगंज, २० साउन — अपहरण, शरीरबन्धक र जबरजस्ती करणीको गम्भीर अभियोगमा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
गत बैशाख २० गते दिउँसो करिब ३ बजे पर्सा जिल्लाको बरैनिया क्षेत्रबाट बाख्रा गोठबाट घर फर्किंदै गरेकी एक महिलालाई दुई जना अज्ञात व्यक्तिहरूले बाटोमै घेरा हालेर बलपूर्वक नियन्त्रणमा लिएका थिए। ती व्यक्तिहरूले पीडितको मुखमा कपडाको बुङ्गो लगाई आँखामा कालो पट्टी बाँधी उनलाई वीरगंज बसपार्कमा रहेको गणेश होटल एण्ड लजको दोस्रो तलामा लगेर कोठामा थुनेका थिए।
कोठामा थुनेर उनीहरू पालैपालो जबरजस्ती करणी गरेका थिए। त्यसपछिको तीन दिनसम्म पनि उनलाई सोही अवस्थामा बन्धक बनाइराखिएको थियो। अन्ततः बैशाख २३ गते बिहान ८ बजे उनीहरू पीडितलाई जिल्ला पर्साको घडिअर्वा पोखरी नजिकको एक गल्लीमा एक्लै रगताम्मे अवस्थामा छाडेर फरार भएका थिए।
घटनापछि पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा अनुसन्धान थालिएको थियो। लामो खोजतलासपछि प्रहरीले आज साउन २० गते दिउँसो करिब सवा १ बजे वीरगंज महानगरपालिका–१५ स्थित प्रतिमा चोकबाट दुईजना अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको प्रवक्ता तथा सुचना अधिकारी डिएसपी किशोर लम्सालले बताए।
पक्राउ पर्नेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–२, सिसियारी घर भई हाल वीरगंज–१३, राधेमाईमा बसोबास गर्दै आएका करिब ४० वर्षीय नेक महमद रहेका छन्। उनी नेक मोटरसाइकल वर्कशपका सञ्चालक हुन्। अर्का अभियुक्त रौतहट घर भई हाल सोही वर्कशपमा काम गर्दै आएका करिब २१ वर्षीय अफताब अन्सारी रहेका छन्।
पक्राउ परेका दुबै जनालाई अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अभियोगमा पर्सा जिल्ला अदालतमा पेश गरिएको छ। अदालतबाट पाँच दिनको म्याद थप लिइ अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

























