वीरगंज, २१ साउन – वातावरणीय सन्तुलन कायम राख्ने र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वीरगंज महानगरपालिकाले थालेको “एक घर, एक बिरुवा” अभियान अन्तर्गत बुधबार फलफूलका बिरुवाहरू निःशुल्क वितरण गरिएको छ।

महानगरको यो अभियानलाई जनस्तरमा प्रभावकारी बनाउन घण्टाघर चोकमा आयोजना गरिएको कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंह आफैँ सहभागी भई स्थानीयवासीलाई बिरुवा वितरण गर्नुभयो।
कार्यक्रममा आँप, लिच्ची, कागती, अनार, अम्बा र बेलजस्ता लोकप्रिय फलफूलका प्रजातिहरूका बिरुवाहरू वितरण गरिएको हो।

विज्ञापन

“हरियालीले शहरलाई स्वस्थ बनाउँछ, र प्रत्येक घरको आँगनमा एक बिरुवा रोप्न सके हामीले वातावरणीय सन्तुलनमा ठूलो योगदान दिन सक्छौं,” महानगर प्रमुख सिंहले कार्यक्रममा भन्नुभयो, “हामीलाई सहरी विकाससँगै हरित विकास पनि उत्तिकै आवश्यक छ।”

महानगरको कृषि शाखा प्रमुख रोशनी यादवका अनुसार करिब ५ हजार बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ, र यसको शुरुवात बुधबार घण्टाघर चोकबाट गरिएको हो।

महानगरपालिकाले अभियानअन्तर्गत सार्वजनिक स्थल, विद्यालय, धार्मिक स्थल तथा व्यक्तिगतरूपमा इच्छुक घरधुरीहरूलाई बिरुवा उपलब्ध गराएको हो। स्थानीयवासीले महानगरको यस प्रयासको प्रशंसा गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here