तस्विर : सौजन्य

वीरगंज, २१ साउन – नगवास्थित सनलाईट माविमा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल र वडा प्रहरी कार्यालय बिर्ताको सहकार्यमा मानव बेचबिखन तथा लागू औषध दुर्व्यसनी सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

प्रहरी साझेदारी सम्पर्क कार्यक्रम अन्तर्गत बुधवार आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रहरी निरीक्षक निरोज चौलागाईंले कक्षा ९ मा अध्ययनरत करिब ७० जना विद्यार्थीहरुलाई लक्षित गर्दै वृत्तचित्र प्रदर्शनसहित प्रशिक्षण दिएका थिए। उनले मानव बेचबिखन तथा लागूपदार्थको परिचय, त्यसका दुष्परिणाम, कानुनी सजाय, जरिवाना तथा त्यसबाट बच्न सकिने उपायहरूबारे स्पष्ट रूपमा जानकारी गराए।

विज्ञापन

प्रशिक्षणक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न जिज्ञासा व्यक्त गरेका थिए, जसको सहज र सन्तोषजनक जवाफ प्रमुख अतिथि चौलागाईंले दिएका थिए।

कार्यक्रममा सल्लाहकार मार्टिन मोक्तानले “हामी सबै समाजका बिना बर्दीका सिपाही हौं,” भन्दै प्रहरीसँग सहकार्य गरी सभ्य समाज निर्माणमा जुट्न विद्यार्थीहरूलाई आग्रह गरे। उनले आगामी दिनमा प्रहरी–विद्यालय–विद्यार्थी सञ्जाल बनाइने जानकारी पनि गराए।

विद्यालयका प्रधानाध्यापक आलोक चौरसियाले मानव बेचबिखन तथा लागूपदार्थ दुर्व्यसनलाई समाज र राष्ट्रका लागि ठूलो खतरा भएको उल्लेख गर्दै कुम्हालटोल सामुदायिक प्रहरीले विद्यालयस्तरमै सचेतना फैलाउने प्रयासको प्रशंसा गरे।

कार्यक्रम सामुदायिक प्रहरी कुम्हालटोलका वरिष्ठ सल्लाहकार श्याम केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष नन्दलाल अहिर, मुनलाइट स्कुलका निर्देशक मोक्तान, वीरगंज कपडा बैंक अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, बिर्ता प्रहरीका प्रशिक्षार्थी रोहित मणि दहाल, सामुदायिक प्रहरी उपाध्यक्ष सन्जु दहाल, सदस्यहरू तारा विष्ट, सुशिल श्रीवास्तव, सम्झना मल्ल तथा सञ्चारकर्मी सन्तोष रञ्जितकार, अभिलाष गुप्ता, प्रहरी हवल्दार कुमार विक, प्रज रेनु राय लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here