सिरहा, २३ साउन — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा जिल्ला कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, साहले कल्याणपुर नगरपालिका वडा नं. ६ मा नाला निर्माण कार्य सम्पन्न भइसकेपछि भुक्तानी दिनका लागि सेवाग्राहीसँग रु. १ लाख घुस मागेर लिएको प्रमाणित भएपछि मुद्दा दायर गरिएको हो। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले केही महिना अघि नै साहलाई सेवाग्राहीबाट सो रकम लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट साहले नाला निर्माण योजनाको काम सकिएपछि भुक्तानी दिन पूर्व सेवाग्राहीसँग सो रकम मागी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) को देहाय (ख) अनुसार कैद सजाय र बिगो बराबरको जरिवाना मागदाबी गर्दै मुद्दा दायर गरेको हो। बिगो रकम रु. १ लाख कायम गरिएको छ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, यो मुद्दा भ्रष्टाचार निवारण ऐनअनुसार सजायको मागसहित विशेष अदालतमा पेस गरिएको हो। साहलाई केही महिना अघि नै रंगेहात पक्राउ परे पनि अहिले अनुसन्धान पूरा भएपछि कानूनी कारबाहीका लागि मुद्दा अघि बढाइएको आयोगले स्पष्ट पारेको छ।

























