वीरगंज, २८ साउन — भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार जिल्ला भक्तपुरको चाँगुनारायण क्षेत्रमा पर्ने १४ रोपनी ४ आना जग्गा मोहीको नाममा दर्ता प्रमाण–पूर्जा बनाइदिने प्रयोजनमा सेवाग्राहीसँग रु २४ लाख ५० हजार घुस मागिएको उजुरीका आधारमा टोलि खटाइएको थियो।

विज्ञापन

अनुसन्धानका क्रममा प्रमुख आचार्यको मोबाइल उपकरण र सहयोगी राउतको साथबाट मोबाइल उपकरणसहित उक्त घुस रकम कार्यालय परिसरमै बरामद गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आचार्य र राउतले मिलेमतोमा मोही बाँडफाँड तथा नामसारीको प्रक्रिया सहजीकरण गर्ने नाममा सेवाग्राहीसँग घुस लिएको प्रमाण भेटिएको छ।

दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम कसुर ठहर गर्दै रु २४ लाख ५० हजार बिगो कायम गर्न तथा कैद र जरिवाना सजायको मागसहित बुधवार विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले बताए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here