वीरगंज, ०१ भाद्र – प्रतीक प्रकाशन समूहद्वारा प्रकाशित प्रतीक दैनिकले आइतबार आफ्नो ३९औँ वार्षिकोत्सव धुमधामका साथ मनाएको छ। लक्षमणवास्थित जेष्ठ नागरिक पार्कमा सम्पन्न कार्यक्रममा फोटो पत्रकार स्वर्गीय सुबोध सिंहको स्मृतिमा स्थापना गरिएको रु ५१ हजार राशिको पुरस्कार यस वर्ष मधेस खबरका अध्यक्ष तथा अन्नपूर्ण पोस्टका पर्सा संवाददाता क्रान्ति शाहलाई प्रदान गरिएको हो।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले शाहलाई प्रमाणपत्रसहित पुरस्कार तथा प्रदान गरेका थिए। प्रतीक प्रकाशन समूहले आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष एक जना सक्रिय पत्रकारलाई सम्मान गर्दै आएको छ। गत साउन १७ गते बसेको समूहको बैठकले यस वर्षको स्मृति पत्रकारिता पुरस्कार शाहलाई दिने निर्णय गरेको थियो।
वार्षिकोत्सवकै अवसरमा प्रतीक दैनिकका उत्कृष्ट संवाददाताका रूपमा प्रमोद यादवलाई नगद रु १५ हजार रुपैयाँसहित सम्मानित गरियो। यस्तै स्तम्भकार तथा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाललाई नगद रु १० हजार, स्व. चिरञ्जीवी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सूर्यनारायण विकलाई नगद रु १५ हजारसहित सम्मान गरिएको थियो।
त्यसैगरी, दैनिकका कर्मचारी दिपेन्द्र साहलाई नगद रु ५ हजारसहित पुरस्कृत गरियो भने स्तम्भकार अनन्तलाल दासलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो।
कार्यक्रम प्रतीक प्रकाशन समूहकी अध्यक्ष बिन्दु शर्माको अध्यक्षता तथा प्रमुख अतिथि वीरगंज महानगर प्रमुख राजेशमान सिंहको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्मा, स्व. सुबोध सिंहका दाजु सुदर्शन सिंह, मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्य, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरी गौतम, पर्सा बार एसोसिएसनका अध्यक्ष रामनारायण कुर्मी, राजेन्द्रप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो।

























