काठमाडौं । जुझारु, कर्मठ, योग्य तथा ऊर्जावान युवा नेता कमरेड रुपेश पाण्डे नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ। नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पार्टीका श्रद्धेय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खादा र माला लगाएर पाण्डेलाई पार्टी प्रवेश गराउनुभएको हो।
समाज रूपान्तरणका लागि लामो समयदेखि सक्रिय रहँदै आउनुभएका पाण्डेले युवा सशक्तीकरण, शिक्षा प्रवर्द्धन, सामाजिक सचेतना, राहत तथा सहयोग अभियान, र स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्ने पहलमार्फत उल्लेखनीय योगदान गर्दै आउनुभएको छ। उहाँले विभिन्न सामाजिक अभियानहरू सञ्चालन गर्दै युवालाई सकारात्मक दिशामा अघि बढ्न प्रेरित गर्नुका साथै विपन्न तथा सीमान्तकृत समुदायको आवाज बुलन्द गर्दै आउनुभएको छ।
उक्त अवसरमा अध्यक्ष ओलीले कमरेड पाण्डेले समाज र राष्ट्रका लागि गर्दै आउनुभएको सक्रिय योगदानको प्रशंसा गर्नुहुँदै, देश र समाजको हितका लागि अझ सशक्त रूपमा अगाडि बढ्न सुझाव दिनुभयो। युवा नेतृत्वले परिवर्तन र समृद्धिको अभियानलाई थप मजबुत बनाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
पार्टी प्रवेशपछि बोल्दै कमरेड पाण्डेले नेकपा एमालेको राष्ट्रवादी विचारधारा, विकास र समृद्धिको स्पष्ट एजेन्डा तथा अध्यक्ष ओलीको दृढ, दूरदर्शी नेतृत्वबाट प्रेरित भएर पार्टीमा आबद्ध भएको बताउनुभयो। उहाँले पार्टीको नीति, सिद्धान्त र कार्यक्रम कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्दै समाजसेवा, सुशासन र राष्ट्रिय हितका पक्षमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो।

























