पर्सा – वीरगंज महानगरपालिका–१७, अलौंस्थित मुस्लिम समुदायको कब्रगाहमा वाउन्ड्रीवाल निर्माणको शिलान्यास गरिएको छ। करिब ५० लाख रुपैयाँ लागतको यस परियोजनाले कब्रगाहको सुरक्षा, संरक्षण र व्यवस्थापनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रम वीरगंज महानगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा बोल्दै प्रमुख सिंहले वीरगंजलाई सांस्कृतिक, धार्मिक र जातीय विविधताको प्रतीकको रूपमा प्रस्तुत गर्दै भने, “सबै धर्म र समुदायको आस्था र परम्पराको संरक्षण हाम्रो साझा दायित्व हो। यो केवल संरचनात्मक कार्य होइन, धार्मिक सम्मान र सामाजिक सद्भावप्रतिको महानगरको गम्भीर प्रतिबद्धता हो।”
उनले विगतमा कब्रगाहमा अतिक्रमण, फोहोर र असुरक्षाको समस्या देखिएको उल्लेख गर्दै वाउन्ड्रीवाल बनेपछि व्यवस्थापन व्यवस्थित हुने विश्वास व्यक्त गरे। साथै, धार्मिक सहिष्णुता र सामाजिक समावेशीतालाई प्राथमिकतामा राख्दै यस्ता कार्यहरूलाई महानगरले निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा योजना प्रमुख अवधेश कुश्वाहा, प्राविधिक सल्लाहकार प्रकाशमान अमात्य, इन्जिनियर प्रकाश अधिकारी, स्थानीय अगुवा र नागरिकहरूको उपस्थिति थियो। सहभागीहरूले महानगरको यो पहलले धार्मिक संरचनाको संरक्षणसँगै सामाजिक एकता र सहकार्यको सन्देश दिएको प्रतिक्रिया दिएका छन्।

























