तस्विर : सौजन्य

वीरगंज, २९ जेठ — एसईई दिएर भविष्यको बाटोमा पाइला टेक्दै गरेका विद्यार्थीहरूका लागि वीरगञ्जमा शुक्रवार आयोजना हुने ‘भविष्य मेला’ अवसरहरूको खुला चौतारी बन्ने भएको छ। मेलामा सहभागी विद्यार्थीहरूलाई वित्तीय सशक्तीकरणका लागि प्रोग्रेसिभ फाइनान्स लिमिटेडले निःशुल्क बैंक खाता खोल्ने सुविधा प्रदान गर्ने भएको छ।

यस सहयोगका लागि बिहीवार प्रोग्रेसिभ फाइनान्स लिमिटेडका अपरेसन इन्चार्ज रोशन शर्मा र भविष्य मेलाका निर्देशक नवीन कार्कीबीच औपचारिक सम्झौता भएको छ। बैंक खाता खोल्न विद्यार्थीले नागरिकताको फोटोकपी, राष्ट्रिय परिचयपत्रको फोटोकपी र पासपोर्ट साइजको फोटो ल्याउनु पर्नेछ। नागरिकता नभएका विद्यार्थीहरूले भने अभिभावकको नागरिकता, आफ्नो जन्म प्रमाणपत्र, एसईईको प्रवेश पत्रको प्रतिलिपि र फोटो बुझाउनु पर्नेछ।

मेलामा एबीसी सेक्युरिटिज प्रालिले पनि निःशुल्क डिम्याट खाता खोल्ने सुविधा उपलब्ध गराउने छ। यसका लागि एबीसी सेक्युरिटिजका वीरगञ्ज शाखा प्रमुख दीपल खन्ना र निर्देशक कार्कीबीच बुधवार सम्झौता भएको हो। “यो पहलले विद्यार्थीहरूलाई वित्तीय साक्षरता र शेयर बजारबारे प्रारम्भिक ज्ञान दिलाउनेछ,” खन्नाले बताए।

शुक्रवार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने यो एक दिने शैक्षिक तथा करियर मेलामा पर्सा, बारा, रौतहट र आसपासका क्षेत्रबाट करिब तीन हजारभन्दा बढी विद्यार्थी र अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको छ।

मेला विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा, प्राविधिक तथा व्यावसायिक शिक्षालगायतका विषयहरूमा जानकारी प्रदान गर्दै विद्यार्थीलाई रुचि र क्षमताअनुसार शैक्षिक संस्था चयनमा मार्गदर्शन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।

मेलामा बैंक तथा डिम्याट खाता खोल्ने सुविधासँगै अन्य विभिन्न सेवा तथा सामग्रीहरू पनि उपलब्ध हुनेछन्:

  • निःशुल्क आँखा परीक्षण शिविर
  • निःशुल्क एनटिसी सिम कार्ड वितरण
  • मेरिट तथा आवश्यकतामा आधारित छात्रवृत्ति योजनाहरू
  • स्टेशनरी किट, शैक्षिक पुस्तकहरू र प्रविधि सम्बन्धी ग्याजेटहरू वितरण

मेलाले शिक्षा तथा वित्तीय जागरूकताको संयोजन प्रस्तुत गर्दै विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने अभियानमा सघाउनेछ। “हामी शैक्षिक अवसरसँगै वित्तीय साक्षरताको महत्त्व बुझाउन प्रतिबद्ध छौँ,” निर्देशक कार्कीले बताए।

मेलाको स्वागत गर्दै स्थानीय युवा नेता राकेश यादवले भने, “मेलाले हाम्रा विद्यार्थीहरूलाई आफ्नै सहरमा अवसरहरूको संसार देखाउने छ। वीरगञ्जलाई शैक्षिक हब बनाउने यो ठूलो कदम हो।”

यसैगरी, अभिभावक सुनिता कुमारीले मेलाप्रति आभार प्रकट गर्दै भनिन्, “हाम्रा छोराछोरीले अब बाहिर जान नपरी आफ्नै सहरमा गुणस्तरीय शिक्षा र करियर विकल्पहरूबारे जानकारी पाउनेछन्। यो हाम्रो समुदायका लागि गर्वको विषय हो।”

आयोजक संस्थाले वीरगंज र आसपासका विद्यार्थी, अभिभावक, शैक्षिक संस्था र व्यवसायीहरूलाई मेलामा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ। “मेला केवल एक कार्यक्रम होइन, यो हाम्रा युवाहरूको सपनालाई उडान दिने आन्दोलन हो,” निर्देशक कार्कीको भावुक भनाइ थियो।

मेलाले वीरगंजलाई क्षेत्रीय शैक्षिक केन्द्रको रूपमा स्थापित गर्न सहयोग पुग्ने र स्थानीय युवालाई सशक्त, सचेत र सक्षम बनाउने दाबी आयोजकको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन