वीरगंज, ०८ असार – शनिवार साँझ करिब ५ बजे वीरगंज महानगरपालिका–९ रानीघाटस्थित शंकरप्रसाद तेलीको नाममा दर्ता रहेको मधेश प्रदेश ०३–०३६ प ८५१७ नम्बरको २०० सीसीको एनएस मोटरसाइकल सार्वजनिक ढलान सडकमा पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको थियो।
मोटरसाइकलको लक फोडी चोरी गरिएको उक्त सवारी साधन करिब ४० मिटर पर डोऱ्याउँदै लगिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले फेला पारी मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति रौतहट जिल्ला फतुवा विजयपुर नगरपालिका–८ स्थायी घर भई हाल बारागढी गाउँपालिका–८, बारा निवासी २७ वर्षीय छोटेलाल सहनी हुन्।
प्रहरीले मोटरसाइकलसहित सहनीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको छ। निज विरुद्ध चोरी सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

























