वीरगंज, २६ असार — देशभर मनसुनी प्रणाली सक्रिय रहँदा आज दिउँसो र राति अधिकांश स्थानहरूमा आंशिकदेखि साधारणतया बदली रहने जलवायु पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाको अनुमान छ।
त्यस्तै, देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी प्रदेशसहित अन्य पहाडी भू-भागहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। उच्च पहाडी र हिमाली भू-भागमा हिमपात पनि हुन सक्ने जनाइएको छ।
हाल देशभर मनसुनी वायु सक्रिय रहेको र मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको महाशाखाले जनाएको छ।
महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रका नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहिरोको जोखिम रहन सक्ने र केही स्थानमा अस्थायी सडक अवरोध हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

























