खोटाङ, २६ असार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङ जिल्ला शिक्षा कार्यालयका तत्कालीन प्रमुख अधिकारीहरू र अन्य संलग्न व्यक्तिहरूविरुद्ध बिहीवार भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं ४ स्थित जनता उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि निकासा गरिएका अनुदान रकमको हिनामिना र घटिया निर्माण कार्यका कारण नेपाल सरकार र सार्वजनिक संस्थालाई हानि पुर्याएको आरोप छ।
आरोपपत्रमा उल्लेख छ कि, २०७०/७१ र २०७१/७२ मा कुल रु २४ लाख अनुदान दिइएको थियो। तर, सम्झौता भएका शर्त विपरीत भवन निर्माण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको र काम आधा-अधुरो छोडिएको छ। प्राविधिक टोलीको प्रतिवेदन अनुसार, भवनको निर्माण मापदण्ड विपरीत रहेको र थप निर्माण कार्य गर्दा विद्यालय प्रयोगका लागि सुरक्षित नहुने अवस्थामा पुग्ने सम्भावना रहेको छ।
प्रतिवादीहरूमध्ये तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराई, लेखा अधिकृत भुवन प्रसाद आचार्य, प्रधानाध्यापक हेम्वर बस्नेत, सव-इन्जिनियर शिवराज राई, लेखापाल सुरेश कुमार श्रेष्ठ लगायतका अधिकारीहरू र निर्माणमा संलग्न ठेकेदार पनि रहेका छन्। आयोगले ती सबैलाई भ्रष्टाचारमा संलग्न भएको र सार्वजनिक पैसामा घोटाला गरेको भन्दै कठोर कारवाहीको माग गरेको छ।

























