पोखरिया, २७ असार — पोखरिया नगरपालिकाको नवौं नगर सभाको दोस्रो बैठकबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ४४ करोड ४० लाख २७ हजार ४४८ रुपैयाँ ५८ पैसाको बजेट सर्वसम्मत रूपमा पारित गरिएको छ।
नगरपालिकाको सभा हलमा सम्पन्न उक्त बैठकको बन्द सत्रमा उपमेयर रुबी ठाकुरले नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गरेकी थिइन्। प्रस्तुत बजेटमाथि छलफल पछि सबै वडाका जनप्रतिनिधिहरू र सभासदहरूले सहमति जनाउँदै सर्वसम्मत रूपमा पारित गरिएको हो।
नगरपालिकाले यस वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रमा विशेष प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंहले जानकारी दिए। उनका अनुसार समावेशी विकास र नागरिकको आधारभूत आवश्यकता पूरा गर्नका लागि नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ। नगर क्षेत्रका सामुदायिक विद्यालयहरूको स्तरोन्नति, स्वास्थ्य सेवा विस्तार, कृषिमा यान्त्रिकरण तथा उत्पादन वृद्धिलाई प्रोत्साहन र पूर्वाधार विकासमार्फत समग्र नगरको रूपान्तरण गर्नेतर्फ बजेट केन्द्रित गरिएको छ।
नगरसभा मेयर प्रदुमनप्रसाद चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो। सभामा उपमेयर रुबी ठाकुर, प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंह, वडाध्यक्षहरू प्रमोद गिरी, केदार प्रसाद, महेन्द्र महतो, लक्ष्मण साह कानु, शियानन्द चौहान, प्रमानन्द पटेल, नौसाद आलम, सोनालाल साह, किशोरी साह लगायत कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
मेयर चौहानले पोखरिया नगरपालिकालाई आगामी दिनहरूमा आर्थिक, सामाजिक र संरचनागत रूपमा अझ बलियो र सक्षम बनाउन सबै जनप्रतिनिधि, कर्मचारी र नागरिकहरूबीच सहकार्य र साझा दृष्टिकोण आवश्यक रहेको बताए। उनले आगामी वर्ष नगर क्षेत्रको आधारभूत सेवा प्रवाहलाई प्रभावकारी बनाउन विकास योजनाहरू कार्यान्वयन गरिने बताए।
नगरपालिकाले प्रस्तुत बजेटलाई प्रत्येक वडाको आवश्यकता र प्राथमिकता अनुसार वितरण गरिने जनाएको छ। विकास योजनाहरू जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले वडागत रूपमा योजना छनोट र कार्यान्वयन गरिने छ। साथै, केन्द्रबाट प्राप्त अनुदान, आन्तरिक आम्दानी र अन्य स्रोतबाट जुटाइने रकमको आधारमा नगरपालिकाले विभिन्न क्षेत्रका विकास र कल्याणकारी योजनाहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ।
बैठकमा आगामी वर्षहरूमा नगर क्षेत्रभित्र स्मार्ट प्रविधिको प्रयोग, वातावरण संरक्षण, युवा तथा महिला सशक्तिकरण, शहरी पूर्वाधार निर्माण, सामाजिक सुरक्षा कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने योजना पनि अघि सारिएको छ।
बैठकको अन्त्यमा मेयर चौहानले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै पारित बजेट र नीति कार्यक्रमलाई सफल कार्यान्वयन गर्न सबैको सक्रियता र इमानदारीपूर्ण योगदान आवश्यक रहेको बताए।

























