इस्लामाबाद — पाकिस्तानमा निरन्तर परेको भारी मनसुन वर्षा र त्यससँगै आएको आकस्मिक बाढीले जनजीवन अस्तव्यस्त बनेको छ। असार १२ गतेदेखि हालसम्म मनसुनजन्य घटनाहरूमा परी देशभर कम्तीमा ९८ जनाले ज्यान गुमाएका छन् भने १८५ जना घाइते भएका छन्।

यो जानकारी शुक्रबार पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले सार्वजनिक गरेको हो। पछिल्लो २४ घण्टामा मात्र वर्षासँग सम्बन्धित घटनाहरूमा थप आठ जनाको मृत्यु भएको र २७ जना घाइते भएका छन्।

सबैभन्दा बढी क्षति पञ्जाब प्रान्तमा भएको छ जहाँ ३७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये २० जना बालबालिका रहेको बताइएको छ। यसैगरी, खैबर पख्तुनख्वा प्रान्तमा ३० जनाले ज्यान गुमाएका छन्। अन्य प्रान्तहरूमा पनि बाढी र पहिरोका कारण मानवीय र भौतिक क्षति भएका छन्।

अत्यधिक वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेको, तटीय तथा तल्लो भेगका बस्तीहरू डुबानमा परेको, सडक, पुल र सार्वजनिक संरचनाहरूमा क्षति पुगेको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रहरूमा सेना, प्रहरी, उद्धारकर्मी र स्वयंसेवकहरूद्वारा राहत तथा उद्धार कार्य तीव्र रूपमा सञ्चालन भइरहेको छ।

प्रशासनले आगामी दिनहरूमा अझै भारी वर्षा हुने मौसम पूर्वानुमान रहेको जनाउँदै सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरेको छ। विशेषगरी तल्लो भूभाग, नदी किनारा र पहाडी क्षेत्रका जोखिमयुक्त ठाउँमा बसोबास गर्ने नागरिकहरूलाई सुरक्षित स्थानमा सर्न तथा सतर्क रहन अनुरोध गरिएको छ।

प्राधिकरणले आपतकालीन सम्पर्क नम्बरहरू सक्रिय पारिएको र प्रभावित नागरिकहरूलाई समयमै सहायता पुर्‍याउन सबै निकायहरू तयारी अवस्थामा राखिएको जनाएको छ।

मनसुन सुरु भएयता पाकिस्तानका विभिन्न भागहरूमा जलवायु परिवर्तनजन्य असरका कारण वर्षा र बाढीको जोखिम अझ बढेको देखिएको छ। बाढीका कारण लाखौं नागरिक प्रभावित भएका छन् भने ठूलो मात्रामा कृषि क्षेत्र, पशुपालन र पूर्वाधारहरूमा पनि क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन संघीय तथा प्रान्तीय सरकारहरू संयुक्त रूपमा काम गरिरहेका छन्। साथै, अन्तर्राष्ट्रिय सहयोगका लागि पनि आवश्यक तयारी गरिएको प्राधिकरणले जनाएको छ।

पाकिस्तानमा मनसुनको मौसम अझै केही हप्ता रहने भएकाले जोखिम न्यूनीकरणका उपायहरूलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न विज्ञहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here