• राजेश मिश्र
पर्साको वीरगंज महानगरपालिकासँगै जिल्लाभरि गाडिएका दुईसय पचास फिट गहिरो चापाकल पानी दिन्थ्यो। खेत सिँचाइ हुन्थ्यो, गाग्री भरिन्थ्यो, आँगन सफा हुन्थ्यो। तर अहिले त्यो चापाकल सुकिसकेका छन्। केहि ठाउँमा रहेका पचासदेखि डेढ सय फिटका पुरानो चापाकलहरु भने अझै पनि पानी दिइरहेका छन्।
हिन्दी उखान ‘मरता क्या नहीं कर्ता’ भनेझैं अधिकांश मानिसहरुले चापाकल/प्लम्बर मिस्त्रीको सुझाव अनुसार चापाकलकोमुनि झन्डै २/३ फिटको गहिराइमा मोटर जडान गरेका/गरिरहेका छन्। मिस्त्रीहरुले पानी आउने/नआउने ग्यारेन्टी भने दिंदैनन्। पानी आए पनि यो तात्कालिक राहत मात्र हो। ढुक्क हुने अवस्था छैन। यस पटक देखा परेको पानीको सङ्कट अरु केहि होइन, सरकार र समाजमाथि प्रकृतिको चेतावानी स्वरुप प्रहार हो।
प्रकृतिको यस्तो अनौठो व्यवहारले सरकार र सर्वसाधारण मानिस मात्र होइन, भूगर्भविद्हरूसमेत अचम्ममा छन्। के गहिरो जमिन सुकिसकेको हो? के वर्षा पानी अब जमिनभित्र पस्न छाडिसकेको हो?
यसरी गहिरो चापाकल सुक्दै गर्दा, अझै मध्यम गहिराइका चापाकल चलिरहनु जल सङ्कटको सतहमुनिको गहिरिँदो कथा बनेको छ।
पछिल्लो दशकभरि मधेसका अधिकांश गाउँमा एक प्रकारको होड नै चलेको थियो – कोसँग कति गहिरो चापाकल ? पानी त अझ गहिरोमा मीठो, चोखो र धेरै भेटिन्छ भन्ने धारणा बलियो बन्दै गयो। सय फिट गहिराइ चाँही सामान्य, दुई सय फिट चाहिँ भरपर्दो अनि दुई सय पचास फिट वा सोभन्दा माथि चाहिँ ‘सधैँको समाधान’ मानियो। तर अहिले उल्टो देखिन थालेको छ। एक दशकअघि समाधान मानिएको गहिरो चापाकल/बोरिङ नै अहिले समस्याको सङ्केत बनिरहेको छ।
कलैयाका एकजना किसान बताउँछन् – गतवर्ष मात्रै दुई सय अस्सी फिट गहिरो चापाकल गाडिएको थियो, जुन अहिले चल्दैन। तर उही ठाउँको १२० फिटे पुरानो चापाकल अझै चलिरहेछ। यस्तै अनुभव रौतहटका बासिन्दाहरूले पनि गरिरहेका छन्।
यो केवल यदृच्छिक घटना होइन। जल वैज्ञानिकहरू भन्छन् – जमिनमुनिको पानी एकै तहमा हुँदैन। जमिनको सतहदेखि गहिराइसम्म बालुवा, गिट्टी, माटो र गारोको तह–तहबीच पानी अड्केको हुन्छ। जुन तहमा पानी सहजै बग्छ र जम्मा हुन्छ, त्यसलाई जलभण्डार (Aquifer) भनिन्छ। यस्तो जलभण्डार कुनै ठाउँमा ५० फिटमा हुन्छ, त कतै ३०० फिटमा।
सामान्यतया तीन–चार तहसम्म पानी पाइन्छ। सबैभन्दा माथिल्लो तह वर्षा पछि तुरुन्तै भरिन्छ, तर वर्षा रोकिएपछि चाँडै सुक्छ। मध्यम गहिराइको तह चाहिँ केही स्थिर मानिन्छ, जुन अहिले पनि चलिरहेको छ। तर गहिरो तह – जुन सयौं वर्ष लगाएर पानीले भरिएको थियो – अहिले सुक्न थालेको सङ्केत गहिरा चापाकलबाट आएको मौनता हो।
जल विज्ञहरु भन्छन्, गहिरो तहमा पुनर्भरण अत्यन्तै ढिलो हुन्छ। कुनै–कुनै स्थानमा त त्यहाँको पानी हजारौं वर्ष पुरानो पनि हुन सक्छ, जसलाई जीवाश्म पानी (Fossil Water) भनिन्छ। यस्तो पानी तानिरहँदा, तर नयाँ पानी नपुग्दा, त्यो तह सुक्न सक्छ – सधैँका लागि।
तर प्रश्न उब्जन्छ – किन जमिनभित्र पानी जान छाड्यो?
त्यसको उत्तर पक्की सडकहरूमा भेटिन्छ, सिसा झैँ चम्केका सिमेन्टका आँगनमा भेटिन्छ, ढल व्यवस्थापन नभएका सहरमा भेटिन्छ। जहाँ–जहाँ जमिन छोपिन्छ, त्यहाँ वर्षाको पानी भासिन पाउँदैन। नदी किनारमा तालपोखरी मासिन्छ, वन जंगल फँडानी हुन्छ – जमिन मुनिको तहमा झर्ने प्राकृतिक प्रवाह अवरुद्ध हुन्छ।
यस वर्ष मधेसमा सामान्य वर्षा पनि नभएको बिशेषज्ञहरुको भनाइ छ । वर्षा कम, जमीन कडा – पानीलाई भित्र पस्ने बाटो भेटिँदैन। त्यसैले गहिरो तह सुक्दैछ।
तर अझै पनि केही चापाकल चलिरहेका छन् – ती छन्, मध्यम गहिराइमा। मानौँ, अन्तिम आशा बाँकी छन्। तर यो सन्तोषभन्दा बढी, चेतावनी हो। किनभने त्यो तह पनि सुक्न धेरै समय लाग्दैन।
यदि पानीको पुनर्भरण हुने संरचना तत्काल तयार गरिएन भने, पानी अब बोरिङको गहिराइसँगै सुसुप्त इतिहास हुनेछ। न त चापाकलमा आवाज हुनेछ, न खेतमा हरियाली।
अहिले आवश्यक छ — प्रत्येक गाउँ, प्रत्येक टोलले आफ्नो भूजलको ख्याल राख्नु। वर्षा पानी सङ्कलन गर्नु। चापाकल गहिरो बनाउने प्रतिस्पर्धा होइन, जमिनलाई पानी भासिने बनाउने प्रयास हुनु।
यदि हामीले जमिनलाई पानी दिने तरिका नबदल्ने हो भने, जमिनले पनि पानी दिन छाड्नेछ। अनि त्यो दिन, प्यासले बाँच्न सकिनेछैन – न हामी, न हाम्रो मधेस।