birgunj-water-report-nagative
​रिपोर्ट श्रोत : वीरगंज महानगरपालिका

वीरगंज​, १२ भदौ  वीरगंज महानगरपालिकाले आफ्नै प्रयोगशालाबाट संक्रमित स्थलहरूको पानी परीक्षण गर्दा झाडापखाला फैलाउने जीवाणु नभएको पुष्टि भएको छ।

हैजा प्रभावित वडा नं १०, ११ र १२ का सात स्थानका धाराबाट संकलित सबै नमूनाको प्रतिवेदन ‘नेगेटिभ’ आएको हो।

पछिल्ला दिनमा झाडापखाला तथा हैजाको संक्रमण तीव्ररूपमा फैलिन थालेपछि महानगरले तत्कालीन जोखिमलाई ध्यानमा राख्दै आफ्नै प्रयोगशालामा पानी परीक्षण सुरु गरेको थियो।

महानगरले हैजा प्रभावित वडा नं १०, ११ र १२ का विभिन्न सात स्थानका धाराबाट पानीको नमूना संकलन गरी परीक्षण गरेको थियो। तीमध्ये तीनवटा बोरिङ र चारवटा खानेपानी संस्थानका धाराबाट नमूना लिइएको थियो। सबै सात नमूनामा झाडापखाला फैलाउने इ-कोली जीवाणु फेला नपरेको महानगरले जनाएको छ।

यसअघि मधेस प्रदेश प्रयोगशालामा पठाइएका १० वटा नमूनामा पनि जीवाणु फेला नपरेको पुष्टि भएको थियो।

वडा नं १ छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै स्थापना गरिएको आधुनिक प्रयोगशालाबाट हाल परीक्षण भइरहेको छ। माइक्रोबायोलोजिस्ट अजय मण्डलको प्राविधिक नेतृत्वमा गरिएको परीक्षणमा हाल इ-कोलीको परीक्षण गरिएको हो।युनिसेफको सहयोगमा कोलीफर्म परीक्षण पनि सुरु भएको छ, जसको प्रतिवेदन शुक्रबारसम्म आउने जनाइएको छ।

महानगरको वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले संकास्पद क्षेत्रमा पुगेर धाराको पानी संकलन गर्ने र नियमित परीक्षणलाई तीव्रता दिने काम गरिरहेको छ। कुन क्षेत्रमा दूषित पानी प्रवाह भइरहेको छ भन्नेबारे छिटो जानकारी प्राप्त गर्न तथा तत्काल आवश्यक कदम चाल्न सहज हुने भएकाले महानगरले आफ्नै स्तरमा परीक्षण अघि बढाएको हो।

महानगर प्रमुख राजेशमान सिंहले संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको उल्लेख गर्दै सुरक्षित खानेपानी नै हालको मुख्य आवश्यकता भएको बता​ए। उ​नका अनुसार नागरिकलाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले आफ्नै प्रयोगशालाबाट परीक्षण सुरु गरिएको हो। अत्यधिक प्रभावित क्षेत्रमा प्रयोग हुने धारालाई प्राथमिकता दिँदै परीक्षण भइरहेको छ भने आवश्यकता अनुसार अन्य संकास्पद स्थानका नमूनासमेत संकलन गरी परीक्षण गरिने महानगरले जनाएको छ।

​रिपोर्ट श्रोत : वीरगंज महानगरपालिका
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here