हामीले राष्ट्रिय पक्षी, राष्ट्रिय जनावर, राष्ट्रिय फूल जस्ता शब्दहरू सुनेका छौं । तर, कहिल्यै ‘राष्ट्रिय पुरुष’ भन्ने सुन्नुभएको छ ? यो शब्द पहिलो पटक सुन्दा मलाई पनि अचम्म लाग्यो । कुनै पुस्तकमा यो शब्द पढेपछि यसले मेरो दिमागलाई सोच्न बाध्य बनायो—के साँच्चै हाम्रो समाजमा राष्ट्रिय पुरुष भन्ने कोही हुन्छ ? यदि हुन्छ भने, को हुन् ती राष्ट्रिय पुरुषहरु ? यसै सेरोफेरोमा कथा यस्तो छ।
एक दिन केही किसान र मजदूरहरू आफ्नो समस्या लिएर जिल्ला अधिकारी कहाँ जान्छन् । उनीहरूका अनुहारमा संघर्षको छायाँ स्पष्ट देख्न सकिन्थ्यो । समस्या गम्भीर भएकाले उनीहरूले आफ्नो दुखेसो जिल्ला अधिकारीसँग पोख्न चाहन्थे। तर अधिकारीका सहयोगी कर्मचारीले ती गरीब किसान र मजदूरहरूलाई भने, “सर अहिले व्यस्त हुनुहुन्छ। समय छैन। तपाईंहरु तीन-चार दिनपछि आउनुहोस्।”
निराश मन लिएर उनीहरू फर्कनै लाग्दा एकजना व्यक्तिको आगमन हुन्छ । उनी सिधै जिल्ला अधिकारीको कार्यकक्षमा प्रवेश गर्छन् । जिल्ला अधिकारीका सहयोगीले उनलाई रोकेनन्। सायद उनको समस्या ती किसान मजदूरको समस्याभन्दा अझै ” महत्वपूर्ण” थियो, त्यसैले उनलाई रोकिएन । तर उनको जरुरी काम के थियो ? यो कुरा सजीव जिल्ला अधिकारी, ती पुरुष र कोठाभित्र रहेका सम्पूर्ण निर्जीव वस्तुहरूलाई मात्र थाहा होला ।
बिचरा किसान मजदूरहरूले जिल्ला अधिकारी समक्ष समस्या पोख्न पाएनन्। निराश भए। आफ्नो समस्या अफ़ैसनग लिएर उल्टो पाइला फर्कन बाध्य हुन्छन् ।
यो घटनाले हाम्रो समाजमा रहेको असमानताको वास्तविकतालाई दर्शाउँछ । सोर्सफोर्स भएका मानिसहरूका समस्या तुरुन्त समाधान हुन्छन्। तर गरिब निमुखाहरु अधिकारसँग भेट्न पनि संघर्ष गर्नुपर्छ। आजको समयमा कुनै सरकारी कार्यालयमा प्रमुखसँग भेट्नु वा कर्मचारीसँग नियमानुसार काम गराउनु भनेको ढुंगाको चिउरा चपाउनु भन्दा पनि गार्हो छ। आखिर कारण के हो ? अपवाद बाहेक सोर्स र सिफारिस बिना किन काम हुँदैन ? वर्तमान समयमा अबैध प्रजातिका यी ‘सोर्स प्रेमी’ मानव आज प्रत्येक सरकारी कार्यालय भित्र र बाहिर पाइन्छन्। सिफारिसजन्य गणितमा माहिर अबैध प्रकृतिका कतिपय राष्ट्रिय पुरुषहरु आफूलाई सत्ता पुरुषमा परिणत गरेको इतिहास पनि छ। कार्यालय र सेवाग्राही बीच मध्यस्थता गर्ने पत्रलाई ‘दलाल’ भनिने गरिन्छ। तर समय फेरिएको छ दलाल भनेर उनीहरुको मान मर्दन गर्नु भएन।
सरकारी कार्यालयहरुमा अबैध तरीकाले काम गराउने ती अबैध व्यक्तिहरू नै हुन् – “राष्ट्रिय पुरुष ।” यी राष्ट्रिय पुरुषहरू, जो आफ्नो निधारमा सोर्से र सिफारिशको सूची टाँसेर अत्यधिक भिडभाड हुने सरकारी कार्यालय र कर्मचारीहरुको अगाडि-पछाडि अदृश्य रुपमा घुमिरहेका हुन्छन् । ती राष्ट्रिय महापुरुषहरु अनेक प्रकारका अबैध कार्य गर्न/गराउन सिपालु हुन्छन्। जस्तै, ट्राफिक प्रहरीद्वारा जफत गरिएको सवारी चालक अनुमति पत्र, प्रहरी अधिकारीहरुसँग मुद्दा मिलाउन, विद्यार्थीहरुको नम्बर बढाउन, परीक्षा नक्कल गर्न शिक्षकलाई मिलाउन, मन्त्री-विधायकहरुसँग सिफारिस गराउन वा पालिकाका अधिकारीहरूसँग टेन्डर पास गराउने लगायतका कामको लागि यी राष्ट्रिय पुरुषहरुका आँखाले सर्वसाधारण जनताको खोजीमा हुन्छ। यी अबैध प्रकृतिका राष्ट्रिय पुरुषहरूका लागि न कुनै काम गाह्रो छ, न कुनै समस्या ठूलो। कहिले काँही त त्यस्ता व्यक्तिहरू पनि राष्ट्रिय पुरुष कहाँ सोर्स र सिफारिश खोज्न आउँछन्, जसको काम सामान्य भए पनि हप्तौं/महिनौं दुख झेल्न बाध्य बनाइएका हुन्छन्।
एक पटकको कुरा हो, राष्ट्रिय पुरुष कुनै व्यक्तिको शवयात्रामा श्मशान घाट पुगे । त्यहाँ शवदाह गर्नका लागि श्मशान घाट समितिले सस्तो मूल्यमा काठ बेचिरहेको थियो । ठूलो संख्यामा काठको थुप्रो थियो, जुन किनेर शव जलाइन्थ्यो । त्यहाँ एकजना इन्चार्ज थिए। राष्ट्रिय पुरुषले उनलाई चिने ।
उनले भने, “ओहो ! तपाईं यहाँ ?”
इन्चार्जले व्यक्ति उत्तर दिन्छन्, “हो, मेरो ड्युटी यही हो।”
राष्ट्रिय पुरुषले हाँस्दै भने, “यत्रो काठ छ, दुई-चार सय किलो हरायो भने कसरी थाहा हुन्छ ?”
उनको कुरा सुनेर इन्चार्ज आश्चर्यचकित भए। उनी राष्ट्रिय पुरुषको अनुहार हेरेको हेर्यै भए।
पुन: राष्ट्रिय पुरुष भन्छन्, “यार, एक दिन त सबैले मर्नु नै पर्छ। पछि मरेर आएँ भने तिमी भएनौ भने काठ किन्न पैसा लाग्ला । तिमीले मलाई अहिल्यै निःशुल्क जलाइदेऊ ।”
शवदाह स्थलमा पनि ‘सोर्स’ भेटिएपछि राष्ट्रिय पुरुष निःशुल्क काठमा नै जलेर मर्न तयार हुन्छन् !
राष्ट्रिय पुरुष वास्तवमा समाजका अबैध प्रकारका विशेष पात्र हुन्। यो समाजमा गरिब, किसान, मजदूर र निमुखाहरूको कुनै अस्तित्व छैन । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं समाजमा नाम फैलिएका प्रतिष्ठित/अप्रतिष्ठित व्यक्तिले संघर्ष गर्यो भने त्यो वीरताको गाथा बन्छ । तर एक सामान्य वर्गका मानिस तथा गरिब मजदूरले संघर्ष गर्यो भने उसले सरकारबाट राहतको अपेक्षा गर्नुको बिकल्प हुँदैन। अपवाद बाहेक इतिहासमा केवल ती व्यक्तिहरू महान ठहरिन्छन्, जसको नाम सत्ता, शक्ति र भत्तासँग जोडिएको हुन्छ । राजनीतिमा पनि यही हुन्छ —केही नेताहरू आफूलाई राष्ट्रिय पुरुषका रूपमा प्रस्तुत गर्छन्, चाहे उनीहरूको कर्म राष्ट्रहितमा होस् वा नहोस् । गरिब, निमुखा र शोषित वर्ग देशहितमा जति नै गरे पनि उनीहरु कहिल्यै ‘राष्ट्रिय पुरुष’ बन्न सक्दैनन्।
शक्ति सम्पन्न व्यक्ति केहि गर्यो भने त्यो आदर्श बन्छ। तर गरिबको त्याग निरीहताको प्रतीक बनाइन्छ। इतिहासले सधैं ती व्यक्तिहरूलाई मात्र राष्ट्रिय पुरुषको रूपमा चिनाइरहन्छ, जसले शक्ति र सत्तासँग सम्बन्ध राख्छन्। राजनीतिमा प्रवेश गरेका नेताहरू संघर्ष गरे, उनीहरू सत्तासम्म पुगे । तर आज देशका दुखी जनता, गरिब, मजदुर र किसानको संघर्षलाई कसैले मूल्य दिन्छ ? सत्तामा पुगेका नेताहरू राष्ट्रिय पुरुषको उपाधि पाउँछन्। तर जो खेतमा पसिना बगाउँछ, उसको संघर्षलाई कसैले देख्दैन । यो समाज तब मात्र परिवर्तन हुनेछ, जब श्रम गर्ने हातलाई सम्मान दिइनेछ। शक्ति होइन, परिश्रमको मूल्यांकन गरिनेछ । यदि इतिहासले वास्तविक संघर्षशीलहरूलाई ठाउँ दिएन भने इतिहासले नै आफ्नो औचित्य गुमाउनेछ।
के कहिल्यै ती वास्तविक संघर्ष गर्ने व्यक्तिहरू इतिहासमा आफ्नो स्थान पाउने छन्? वा केवल शक्ति, सत्ता र भत्ताका भोगीहरु नै ‘राष्ट्रिय पुरुष’ कहलाइरहने छन् ?