काठमाडौं — जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित पाँचजना पूर्वप्रमुखहरूमाथि पाँच करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंले मङ्गलवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विशेष अदालत, काठमाडौंमा दायर गरिएको आरोपपत्रअनुसार तत्कालीन ना.सु. तथा हाल कार्यालय प्रमुखसमेत रहेका बलीराम प्रसाद कुर्मी २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मेवारीमा रहँदै बचतकर्ताबाट संकलित रकमको अभिलेख नराखी, मनपरी खर्च गर्दै आएको खुलेको हो।

विज्ञापन

अनुसन्धानमा कुर्मीले रकम पासबुक तथा लेजर बुकमा मात्र देखाई, नगदी रजिष्टर तथा बैंकमा प्रवेश नगराई रकम दुरुपयोग गरेको पुष्टि भएको अख्तियारको दाबी छ। सोही क्रममा उनले तत्कालीन कार्यालय प्रमुखहरूसँग मिलेमतो गर्दै बचतकर्ताको रु.५,३५,६४,२७९।३३ (पाँच करोड पैँतीस लाख चौसठ्ठी हजार दुई सय उनासी रुपैयाँ तेत्तीस पैसा) रकम हिनामिना गरेका थिए।

तत्कालिन प्रमुखहरू समेत दोषी
तत्कालिन कार्यालय प्रमुखका रूपमा काम गरेका जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साह समेतको संलग्नता पुष्टि भएको आयोगको भनाइ छ। उनीहरूले रकम अभिलेख राखे/नराखेको नहेरी, बैंक दाखिला भए/नभएको चेक नगरी, बचत रकमको प्रयोगप्रति उपेक्षा गरेको आरोप छ।

कानूनी दफा अनुसार सजाय माग
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार आरोप तय गर्दै, अख्तियारले मुद्दामा बिगो अनुसार कैद, जरिवाना र हिनामिना गरिएको सम्पूर्ण रकम असुल गर्न मागदाबी गरिएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, आरोपपत्रमा दोषीहरूलाई ऐनको संशोधनपूर्व र पछिको प्रावधान अनुसार कारबाही हुनुपर्ने माग राखिएको छ।

यो प्रकरण सरकारी कार्यालयभित्रको बचत खातामा भएको प्रणालीगत लापरवाही र मिलेमतोमा भएको ठगी को ठूलो उदाहरणका रूपमा हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here