पकाहाँमैनपुर गाउँपालिका अधिवेशनको उद्घाटन समारोह – जसपछि विवादले कमिटी गठनमा अवरोध आयो

पकाहाँमैनपुर, पर्सा। पकाहाँमैनपुर गाउँपालिकामा नेकपा एमालेको गाउँपालिका कमिटी गठनलाई लिएर विवाद चर्किएको छ। विधि र प्रक्रियाविपरीत कमिटी घोषणा गरिएको भन्दै प्रतिनिधिहरूले बन्दसत्र बहिष्कार गरेका छन्।

“आफ्ना नजिकका नाम खल्तीबाट निकालेर घोषणा गरियो, प्रतिनिधिलाई बोल्न समेत दिइएन।”
हामिद मियाँ, पूर्व जिल्ला कमिटी सदस्य

गएको चैत २३ गते उद्घाटन भएको गाउँपालिका अधिवेशन एक महिनासम्म स्थगनमा परेको थियो। अधिवेशन उद्घाटन भए पनि कमिटी गठनमा विवाद उत्पन्न भएपछि अध्यक्ष मण्डलका अध्यक्ष तथा जिल्ला अध्यक्ष विश्वम्भर शर्माले बन्दसत्र अनिश्चितकालका लागि स्थगित गरेका थिए।

विज्ञापन

तर वैशाख २५ गते एक्कासि कार्यवाहक जिल्ला अध्यक्ष एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बन्दसत्र र निर्वाचन प्रक्रिया नै नगरी फेसबुकमार्फत अकलेश साहको अध्यक्षतामा कमिटी घोषणा गरेपछि विवाद झनै बढेको छ।

प्रतिनिधि हामिद मियाँका अनुसार, कमिटी गठनबारे कुनै छलफल वा प्रक्रिया नभएको र प्रतिनिधिहरूको आकांक्षा बुझ्न नदिइएको भन्दै ७५ प्रतिशत प्रतिनिधिले बहिष्कार गरेका छन्। “आफ्ना नजिकका नामहरू खल्तीबाट निकालेर घोषणा गरियो। हामीले विधि र प्रक्रिया माग गरेका हौं,” उनले बताए।

“उम्मेदवारी दिनेसमेत अवसर नदिइयो, निर्वाचन प्रक्रिया नै नगरी कमिटी घोषणा भयो।”
विजय चौरसिया, निर्वाचन संयोजक

गाउँपालिका इन्चार्ज तथा निर्वाचन कमिटी संयोजक विजय चौरसियाले पनि प्रतिनिधिलाई उम्मेदवारी दिने अधिकार नदिइएको भन्दै असन्तुष्टि जनाए। “उम्मेदवार बन्ने अवसर नै दिइएन। निर्वाचन प्रक्रिया नै सुरु नगरी कमिटी घोषणा गर्नु विधानविपरीत हो,” उनले भने।

घोषित कमिटी अनुसार, उपाध्यक्षमा सन्तोष कुमार चौरसिया, सचिवमा राजेश सहनी, उपसचिवमा रामबाबु चौरसिया र चाँदनी देवी चयन गरिएको छ। तर लामो समयदेखि विवादकै कारण गाउँपालिकाका सबै वडामा कमिटी गठन हुन सकेको छैन।

पूर्व जिल्ला कमिटी सदस्य हामिद मियाँ पनि अध्यक्ष पदका दाबेदार थिए भने अहिले अध्यक्ष घोषणा गरिएका अकलेश साह पहिल्यै पनि पालिका अध्यक्ष भइसकेका थिए। असन्तुष्ट पक्षको आरोप अनुसार जिल्ला इन्चार्ज प्रभु हजरा र अध्यक्ष विश्वम्भर शर्माले आफ्ना नजिकका व्यक्तिलाई अध्यक्ष बनाउने उद्देश्यले एकलौटी ढंगमा कमिटी गठन गराएका हुन्।

“कमिटी असहमतिमा घोषणा गर्नुले विवाद थपिएको छ, विधि विधान मिचिएको छ।”
अरविन्द सिंह, एमाले केन्द्रीय सदस्य

एमाले पर्साको अधिवेशनमा दुई प्यानलबीच प्रतिस्पर्धा रहेको थियो। एमाले केन्द्रीय सदस्य तथा पर्सा क्षेत्र नं. ३ का इन्चार्ज अरविन्द सिंहले पनि पकाहाँमैनपुर कमिटी चयनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रक्रिया नमिल्दा र असहमतिकै बीच कमिटी घोषणा गर्नुले विवाद थप गहिरिएको बताए।

उक्त फेसबुकमार्फत घोषणा गरिएको कमिटीलाई वैशाख २५ गते मात्र नभई, हिजो मंगलबार पनि विधि विधान मिच्दै जिल्ला इन्चार्जले सपथ ग्रहण गराएको असन्तुष्ट पक्षले दाबी गरेका छन्। जसले गर्दा विवाद झन् चर्किएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here