इस्तानबुल — तीन वर्षभन्दा लामो युद्ध अन्त्य गर्ने प्रयासस्वरूप रुस र युक्रेनबीच तुर्किएको राजधानी इस्तानबुलमा प्रत्यक्ष वार्ता सम्पन्न भएको छ। दुवै देशका प्रतिनिधिहरूको सहभागितामा शुक्रबार भएको वार्तामा सकारात्मक प्रगति भएको र एक–एक हजार युद्धबन्दी साटासाट गर्ने सहमति बनेको छ।
रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिन्स्कीले वार्ता सकिएपछि आफूहरू सन्तुष्ट भएको बताएका छन्। उनले भविष्यमा युद्धविरामका लागि दुबै पक्षले आफ्नो धारणा प्रस्तुत गर्ने सहमति पनि भएको जानकारी दिए।
युक्रेनी पक्षले आगामी वार्ता राष्ट्रपति पुटिन र राष्ट्रपति जेलेन्स्कीबीच प्रत्यक्ष रूपमा हुनुपर्ने माग राखेको छ, जसमा रुसी पक्ष सकारात्मक देखिएको छ। वार्ताका लागि तुर्कीका विदेशमन्त्री हकान फिदानले सहजीकरण गरेका थिए।
यद्यपि वार्तामा ठोस निर्णय नभए पनि दुबै पक्षले एक–अर्काको कुरा सुनेका थिए, जसले शान्तिका लागि आशा जगाएको छ। यसपटकको वार्तामा दुबै राष्ट्रपतिहरू अनुपस्थित थिए।
रुसी पक्षले वार्तामा अमेरिकी प्रतिनिधिको उपस्थिति अस्वीकार गरेको थियो भने युक्रेनी पक्षले पुटिनले तल्लो तहको टोली पठाएको भन्दै आलोचना गरेको छ।
युक्रेनले बिनासर्त युद्धविरामको माग गर्दै आएको छ, तर रुसले द्वन्द्वको मूल कारण समाधान हुनुपर्ने बताउँदै आएको छ। सन् २०२२ मा असफल भएको वार्तापछि यो पहिलो पटक दुवै देश प्रत्यक्ष संवादमा उत्रिएका हुन्।
युद्धले हजारौं मानिसको ज्यान लिइसकेको छ र लाखौं विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय समुदायले युद्ध अन्त्यका लागि दबाब दिँदै आएको छ।
























