वीरगंज, पर्सा — “आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने नारासहित वीरगंज महानगरपालिकाको आयोजनामा सञ्चालित ४५ दिने ह्याण्ड इम्ब्रोडरी सीपमूलक तालिम वडा नं. ३० लालपर्सामा सम्पन्न भएको छ। तालिम गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो।
|
यो कार्यक्रम विशेषगरी स्थानीय महिलाहरूको सशक्तीकरण र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यसाथ सञ्चालन गरिएको थियो। सहभागी महिलाहरूलाई ह्याण्ड इम्ब्रोडरी सम्बन्धी विविध डिजाइन, कपडामा कलात्मक कढाई गर्ने तरिका, र उत्पादित सामग्रीको बजार व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान दिइएको थियो।
शुक्रबार आयोजित समापन समारोहमा प्रमुख अतिथि, वीरगंज महानगर प्रमुख राजेशमान सिंहले सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमको प्रभावकारिताको प्रशंसा गरे। उनले भने, “महिला दिदीबहिनीहरूलाई सशक्त बनाउने हाम्रो लक्ष्य हो। यस्ता सिपमूलक तालिमहरूले उनीहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउँछ। ह्याण्ड इम्ब्रोडरी जस्तो सिपले घरमै बसेर आम्दानी गर्न सकिने सम्भावना उच्च छ।”
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले तालिमको प्रशंसा गर्दै स्थानीय तहबाट सञ्चालित यस्ता कार्यक्रमहरू सामाजिक रुपान्तरणको भरपर्दो माध्यम बन्ने विश्वास व्यक्त गरे।
उनका अनुसार, “सिप सिकेर महिलाहरू आत्मनिर्भर बन्ने मात्र होइन, आफूसँग सिकेको सीप अरूलाई पनि सिकाउने ठाउँमा पुग्नेछन्। ह्याण्ड इम्ब्रोडरीले घरेलु उत्पादनको माध्यमबाट स्वरोजगारको सम्भावना खोल्नेछ।”
तालिममा सहभागी महिलाहरूले सिपसँगै आत्मविश्वास पनि बढेको अनुभव सुनाए। उनीहरूले अब घरमै बसेर आय आर्जन गर्न सक्ने आशा व्यक्त गरेका छन्।
महानगरपालिकाले यस्ता सिप विकास कार्यक्रमलाई अन्य वडाहरूमा विस्तार गर्ने योजना बनाएको जनाएको छ। महानगरका अनुसार, यस्ता तालिमहरूले महिलाहरूलाई सानो लगानीमा उद्यम स्थापना गर्ने मार्ग खुलाउने अपेक्षा गरिएको छ।
समापन कार्यक्रममा वडा नं. ३० का वडाध्यक्ष मनोज यादव, आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, र महानगर प्रमुखका राजनीतिक सल्लाहकार उमेशलाल सहनीलगायतको उपस्थिति थियो।

























