अहमदाबाद —इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष टोलीमध्ये एक गुजरात टाइटन्सलाई चेन्नई सुपर किंग्सले आइतबारको खेलमा ८३ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताबाट गौरवपूर्ण बिदाइ लिएको छ। युवा खेलाडीहरूले भरिएको चेन्नईको आक्रामक खेलका अगाडि गुजरात पूर्ण रूपमा निरीह देखियो।

चेन्नईले टस जितेर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २३० रनको विशाल योगफल खडा गर्‍यो। दक्षिण अफ्रिकी ब्याट्सम्यान डेवाल्ड ब्रेभिसले केवल २३ बलमा ५७ रन बनाउँदै टोलीलाई आक्रामक सुरुआत दिलाए। उनले ४ चौका र ५ छक्का प्रहार गरे र ‘प्लेयर अफ द म्याच’ घोषित भए। अर्का ओपनर डेभोन कन्वेले पनि ३५ बलमा ५२ रन बनाए। १७ वर्षीय नवप्रवेशी आयुष म्हात्रेले ३४, उर्विल पटेलले ३७ र रवीन्द्र जडेजाले अविजित २० रनको योगदान गरे।

विज्ञापन

गुजरातको बलिङ आक्रमण प्रभावहीन देखिएको थियो। प्रसिद्ध कृष्णले २ विकेट लिए तापनि अन्य बलर प्रभाव जमाउन असफल रहे।

जवाफमा गुजरात टाइटन्स १८.३ ओभरमै १४७ रनमा अलआउट भयो। ओपनर साई सुदर्शनले सबैभन्दा बढी ४१ रन बनाए भने कप्तान शुभमन गिल १३ रनमै पवेलियन फर्किए। अर्शद खानले ३ छक्का सहित २० रन बनाए। चेन्नईका अंशुल कम्बोज र नूर अहमदले समान ३ विकेट लिए भने जडेजाले २ विकेट हात पारे।

गुजरातको लगातार दोस्रो हारपछि टोली १४ खेलमा १८ अंकमा सीमित रह्यो। अब मुम्बई (१६), पन्जाब (१७) र बेंगलुरु (१७) टिमहरूसँग वरीयता तय हुन बाँकी रहेको छ। यी चारै टिम प्लेअफमा पुगिसकेका भए पनि पहिलो क्वालिफायर र इलिमिनेटर समीकरण अन्तिम खेलहरूपछि मात्र स्पष्ट हुनेछ।

चेन्नईले १४ खेलमा ४ जित निकाल्दै लिग टुंग्यायो। नियमित कप्तान ऋतुराज गायकवाडको चोटपछि टोलीको बागडोर भेट्रान महेन्द्रसिंह धोनीले सम्हालेका थिए, जसको नेतृत्वमा युवा खेलाडीहरूले प्रेरणादायी प्रदर्शन गरे।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here