फिल साल्टको आक्रामक ब्याटिङ: फिल साल्टले २७ बलमा ५६ रन बनाउँदै आरसीबीलाई सहज जित दिलाए। तस्विर : बिसिसिआइ

न्यु चण्डीगढ, पन्जाब — रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले बिहीबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनल यात्रा तय गरेको छ। मुल्लानपुरमा भएको पहिलो क्वालिफायर खेलमा आरसीबीले पञ्जाब किङ्सलाई ८ विकेटले सहजै पराजित गर्दै फाइनल प्रवेश पक्का गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबको प्रदर्शन निराशाजनक रह्यो। पूरा टोली १४.१ ओभरमै १०१ रनमा समेटियो। मार्कस स्टोइनिसले सबैभन्दा बढी २६ रन बनाए भने ओपनर प्रभसिमरन सिंह र अजमतुल्लाह उमरजाईले समान १८ रनको योगदान दिए।

बेंगलुरुका बलर जोस हेजलउड र सूर्यांश शर्माले समान ३/३ विकेट लिए भने यश दयालले २ विकेट हात पारे।

जवाफमा आरसीबीले १० ओभरमै लक्ष्य पूरा गर्दै २ विकेटको क्षतिमा १०६ रन बनाए। ओपनर फिल साल्टले तिव्र गतिमा अर्धशतक बनाउँदै टिमलाई जित दिलाए। उनले २७ बलमा ६ चौका र ३ छक्कासहित अविजित ५६ रन बनाए। विराट कोहलीले १२ रन तथा मयंक अग्रवालले १९ रन जोडे। रजत पाटिदार १५ रनमा अविजित रहे।

अब पञ्जाबले दोस्रो क्वालिफायरमा अन्तिम फाइनलको लागि अर्को प्रयास गर्नेछ। शुक्रबार हुने इलिमिनेटरमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्नेछन्। त्यस खेलको विजेताले दोस्रो क्वालिफायरमा पञ्जाबसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायरको विजेता आइतबार हुने फाइनलमा आरसीबीसँग उपाधिका लागि भिड्नेछ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here