वीरगंज, १८ जेठ — वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ।

नारायणी रंगशालामा सम्पन्न जिल्ला स्तरीय प्रतियोगितामा महानगरपालिकाले ३१ वटा स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थानमा स्थान बनायो। प्रतियोगितामा पर्सागढी नगरपालिकाले १८ स्वर्ण पदकसहित दोस्रो र सखुवा प्रसौनी गाउँपालिकाले ४ स्वर्ण पदकसहित तेस्रो स्थान प्राप्त गरे।

विज्ञापन

नियम अनुसार, लगातार तीन पटकसम्म प्रथम स्थान हासिल गर्ने टोलीले राष्ट्रपति रनिङ शिल्ड स्थायी रूपमा राख्न पाउने व्यवस्था छ। सोही अनुसार, आइतबार आयोजित विशेष कार्यक्रममा शिल्ड वीरगंज महानगर प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गरिएको हो।

शिल्ड ग्रहण गर्दै प्रमुख सिंहले खेलाडीहरूको मेहनत र समर्पणको प्रशंसा गर्दै महानगरले खेलकुद क्षेत्रमा अझ थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वडा नं. ५ का अध्यक्ष प्रदिप चौरसिया, प्रशासन प्रमुख सुनिल कर्ण, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, प्रेस सल्लाहकार नवराज फुयाँल, खेल प्रशिक्षक विश्वेश्वर पटेललगायतको उपस्थिति थियो।

यो उपलब्धिले वीरगंज महानगरपालिकाले खेलकुद क्षेत्रमा गरिरहेको लगानीको प्रतिफल देखाएको छ। महानगरले खेलाडीहरूको प्रोत्साहन, विकास र सुविधामा निरन्तर ध्यान दिँदै आएको छ, जसले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here