वीरगंज, १८ जेठ — पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–२ मा करिब २ करोड रुपैयाँको लागतमा कालोपत्रे सडक निर्माण कार्य सुरु गरिएको छ।
संघीय सरकारको शहरी विकास मन्त्रालय अन्तर्गतको ‘एक प्रदेश, एक पालिका’ योजनाअन्तर्गत सखुवा प्रसौनी गाउँपालिका–२ मा भण्डारी पुलदेखि रामभौरी, घुसुकपुर हुँदै रंगपुर गाउँसम्मको २ किलोमिटर लामो सडक कालोपत्रे गर्न लागिएको गाउँपालिका अध्यक्ष यसवन्त यादवले जानकारी दिए।
उनका अनुसार, यो योजना अन्तर्गत सखुवा प्रसौनी गाउँपालिका मधेस प्रदेशबाट छनोटमा परेको हो। कुल १८ फिट चौडाइको उक्त सडक निर्माण कार्य आइतबारबाट औपचारिक रूपमा सुरु गरिएको छ।
अध्यक्ष यादवले सडक निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिसक्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको बताए।
निर्माण कार्यको सुरुआती दिनमै अध्यक्ष यादव स्वयं स्थलमा पुगेर कामको अवलोकन गरेका थिए। उनले निर्माण कम्पनीका प्रतिनिधिलाई गुणस्तरीय काम गर्न निर्देशनसमेत दिएको जानकारी दिए।

























