दिनेश मिश्र, २० जेठ, वीरगंज – लैंगिक हिंसा तथा मानसिक समस्या भएका सेवाग्राहीहरूको उपचार सफलतापूर्वक सम्पन्न भएको छ। वीरगंज मनपाको आयोजना र सिएमसि नेपालको सहयोगमा ”सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत मानसिक समस्या भएका सेवाग्राहीहरूको उपचार गरिएको हो।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोरोग विशेषज्ञ डा. दिव्यांशु झाले वीरगंज मनपा, पकाहा मैनपुर गापा र पोखरिया नपाका १५ जना महिला र ९ जना पुरुष गरी २४ जना सेवाग्राहीहरूको मानसिक अवस्थाको मूल्यांकन गरी उपचार र औषधि वितरण गरिएको बताए ।
जिल्ला मनोसामाजिक संयोजक रमिता श्रेष्ठले लैंगिक हिंसाबाट पीडित सेवाग्राहीहरूमा देखिएको मानसिक स्वास्थ्य समस्याको पहिचान गरी उपचार र परामर्शमार्फत सहज जीवनयापन गर्न सक्ने अवस्थामा ल्याउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताइन् ।
कार्यक्रम वीरगंज मनपा वडा नं १४ स्थित पिपरा स्वास्थ्य चौकीको ओपीडी कक्षमा सम्पन्न भएको स्वास्थ्य चौकी प्रमुख सच्चितानन्द प्रसाद जयसवालले बताए ।
कार्यक्रममा प्रदेश संयोजक अमजद अली मिकरानी, वीरगंज मनपाका जनस्वास्थ्य निरीक्षक राजु साह, सामुदायिक मनोसामाजिक कार्यकर्ता छाया क्षेत्री, निशा चौहान, मनी कुमारी चौधरी, अंगिरा कुमारी चौहान लगायतको सक्रिय सहभागिता रहेको थियो।

























