वीरगंज, २१ जेठ – सरकारी विज्ञापन प्रक्रिया हेरफेर गरी सार्वजनिक सूचना नकली रूपमा छापेर करिब ३ लाख रुपैयाँ ठगी गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मङ्गलवार भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक खरिद ऐन तथा सूचनाको प्रकाशन सम्बन्धी कानुनको उल्लङ्घन गरी डच मिडिया प्रालि, टाईम्स रिपब्लिक मिडिया प्रालि र प्रभाव राष्ट्रिय दैनिक प्रालिका सञ्चालक तथा स्थानीय सरकारका कर्मचारीहरू मिलेर सरकारी रकम हिनामिना गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो।

विज्ञापन

प्राप्त जानकारीअनुसार सप्तरी जिल्लाको तिलाठी कोईलाडी गापाको आव २०७९/०८० का चार ठेक्कासम्बन्धी सूचना कानुनतः राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेमा, सम्बन्धित व्यक्तिहरूले सूचनाको झूटा प्रकाशन देखाइ प्रिन्ट नहुनुका बाबजुद पनि विज्ञापनको रकम बुझेका थिए।

विशेषगरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सञ्जय कुमार मादव, सह–लेखा प्रमुख सत्रोहन दास, टाईम्स रिपब्लिक मिडियाका संस्थापक भुषणकुमार सिंह, डच मिडिया प्रालिका निर्देशक रवि अर्याल र प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत रू. ३,१६,४१० को भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

अनुसन्धानबाट प्रमाणित तथ्यअनुसार, सूचनाहरू कुनै पनि वास्तविक पत्रिकामा प्रकाशित नभएको देखिएको छ। प्रेस काउन्सिल नेपालमा प्रकाशनको प्रमाणसमेत फेला नपरेको उल्लेख छ। सोहि सूचनाको आधारमा डच मिडिया र टाईम्स रिपब्लिकलाई रकम भुक्तानी गरिएको थियो।

अख्तियारका अनुसार, झुट्टा कागजात र अपारदर्शी प्रक्रियामार्फत सरकारी रकम हिनामिना गरिएको पुष्टि भएसँगै दोषीहरूलाई सजायको मागदाबी सहित विशेष अदालतमा मुद्दा दर्ता गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here