अहमदाबाद, ३१ जेठ — एयर इन्डियाको एआई-१७१ ड्रीमलाइनर जहाज जुन १२ तारिख बिहान एहमदाबादबाट लन्डन–ग्याटविकतर्फ उडेको केही समयमै दुर्घटनामा परेको थियो, सो दुर्घटनाको अनुसन्धानमा एक महत्वपूर्ण प्रगति भएको छ। भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो (AAIB) ले दुर्घटनास्थल नजिकै एक भवनको छतबाट ब्ल्याक बक्स फेला पारेको पुष्टि गरेको छ। ब्ल्याक बक्स फेला परेको करिब २८ घण्टा पछिपछि सार्वजनिक घोषणा गरिएको हो।

दुर्घटनामा २३० यात्रु र १२ चालक दल सदस्यसहित २४१ जनाको मृत्यु भएको छ भने एक जना मात्र यात्रु जीवितै उद्धार गरिएका छन्। जीवित यात्रु विश्वकुमार रमेश नामका ब्रिटिश–भारतीय नागरिक रहेको बताइएको छ। मृतकमध्ये केहीको पहिचान अझै खुलेको छैन भने पहिचान खुल्न नसकेकाहरूको डीएनए परीक्षण प्रक्रिया सुरु गरिएको छ।

विज्ञापन

फेला परेको ब्ल्याक बक्समा उडानसम्बन्धी सम्पूर्ण तथ्यांक (फ्लाइट डाटा रेकर्डर) र कोकपिटभित्रका अन्तिम आवाज (भ्वाइस रेकर्डर) रहने हुँदा अनुसन्धानका लागि यो सबैभन्दा महत्वपूर्ण प्रमाण हो। प्रारम्भिक रूपमा इन्जिन थ्रस्ट, फ्ल्यापको स्थिति, र ल्यान्डिङ गियर खोलिएको अवस्था जस्ता पक्षहरूमा अध्ययन अगाडि बढाइएको छ। अनुसन्धानकर्ताहरूले एक हप्ताभित्र प्रारम्भिक रिपोर्ट आउन सक्ने बताएका छन्।

भारत सरकार र नागरिक उड्डयन मन्त्रालयले एयर इन्डियाका सबै बोइङ ७८७–८ र ७८७–९ मोडलका जहाजहरूमा अतिरिक्त सुरक्षा परीक्षण र मर्मतका लागि निर्देशन दिइसकेको छ। अनुसन्धानका लागि बोइङ कम्पनी, GE एरोस्पेस, अमेरिका, बेलायत, र भारतका प्राविधिक विशेषज्ञहरूको टोली परिचालन गरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनास्थलको निरीक्षण गर्दै घाइते यात्रुसँग भेट गरेका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुर्घटनाको कारण यथाशीघ्र पत्ता लगाइने प्रतिबद्धता जनाएका छन्। एयर इन्डिया सञ्चालक टाटा समूहले मृतकका परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरिसकेको छ।

ब्ल्याक बक्स फेला परेसँगै दुर्घटनाको वास्तविक कारण पत्ता लगाउने दिशामा अनुसन्धानले उल्लेखनीय गति लिएको छ। आगामी दिनहरूमा यसबारे थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here