वीरगंज, ०२ असार — देशभर अहिले मनसुनी वायु सक्रिय बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति दुवै समयमा अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा विशेषगरी वर्षा हुने सम्भावना बढी छ । यी प्रदेशका एक-दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा पनि हुनसक्ने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा वा हिमपातको पनि सम्भावना रहेको छ । बाँकी प्रदेशका उच्च क्षेत्रहरूमा पनि एक-दुई स्थानमा यस्तै मौसम देखिन सक्छ ।
मौसम विश्लेषण अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव देखिएको छ । देशको पश्चिमी भू-भागमा भने पश्चिमी वायु तथा स्थानीय वायुले आंशिक असर गरिरहेको छ ।
महाशाखाले देशका पहाडी र हिमाली भू-भागमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ । भारी वर्षाका कारण बाढी, पहिरो तथा सवारी आवागमनमा असर पुग्नसक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

























