वीरगंज, ०९ असार — मौसम पूर्वानुमान महाशाखाले सोमबारको लागि देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। दिउँसोको समयमा देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। यस दिन कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ। साथै, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको उल्लेख गरिएको छ।
सोमबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। ती प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि हुन सक्ने जनाइएको छ। यसैगरी, उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वीरगंज लगायत आसपासका क्षेत्रमा सोमवार बिहान ७ बजेदेखि पानी परिरहेको छ ।

























