वीरगंज, २२ असार — वीरगंज महानगरपालिका र आसपासका बस्तीहरूमा पानीको समस्या झनै गम्भीर बन्दै गएको छ। छपकैया, आदर्शनगर, रानीघाट, श्रीपुर, मुडली, नगवा, लक्ष्मनवा, पिप्रा, बहुअरी लगायतका स्थानहरूका स्थानीय बासिन्दा विगत केही वर्षदेखि दैनिक जीवन चलाउनै मुस्किल हुने गरी पानीको अभाव झेलिरहेका छन्। पछिल्लो समय राधेमाई क्षेत्रका नागरिकहरू पनि यो समस्याबाट जुध्न बाध्य भएका छन्।
स्थानीय बासिन्दाका अनुसार, अघिल्लो दुई-तीन वर्षदेखि सुरु भएको पानी सङ्कट अहिले विकराल रूप लिँदै गएको छ। गर्मी महिनामा समस्या चरम अवस्थामा पुग्छ भने वर्षाको समयमा केही मात्रामा सहज भए पनि दीर्घकालीन समाधान नहुँदा समस्या स्थायी बन्दै गएको छ। “मोटरले पानी तान्दैन, चापाकल सुक्दै गएको छ,” स्थानीय एक जनाले गुनासो गरे।
यस समस्याको समाधानको लागि स्थानीय तह र सम्बन्धित निकायले विभिन्न स्थानमा डिप बोरिङ्ग जडान गरिरहेका छन्। तर जल स्रोत विज्ञहरूले डिप बोरिङ्ग समाधान होइन, अझ गहिरो सङ्कटको सुरुवात हुने चेतावनी दिएका छन्। उनीहरूका अनुसार, बिनायोजना र मनोमानी रूपमा गरिएका डीप बोरिङ्गहरूले जमिन मुनिको जलस्तर झन् गहिरिनेछ र चापाकल वा सतहको पानीमा निर्भर गरिब र सामान्य वर्ग झन बढी मारमा पर्नेछन्।
सहरका सम्पन्न वर्गले लाखौं खर्च गरेर घरमै डीप बोरिङ्ग गराउन थालेका छन्, तर गरिब वर्ग भने चापाकल र सार्वजनिक धारा कुर्दै समय बिताइरहेका छन्। पानीको यो असमान पहुँचले सामाजिक तथा आर्थिक असमानता झन् बढाउने चिन्ता स्थानीय नागरिक र सामाजिक अभियन्ताहरूले व्यक्त गरेका छन्।
स्थानीय तह तथा सरकारद्वारा दीर्घकालीन समाधानका लागि वैकल्पिक स्रोतहरूको खोज, वर्षा पानी संकलन प्रणालीको प्रवर्द्धन, भूमिगत जल व्यवस्थापन नीति निर्माण जस्ता उपायहरू तत्काल अगाडि सार्नुपर्ने आवाज चुलिएको छ।

























