• राजेश मिश्र
“हमनी के टोला में पानी के बहुत समस्या बा, पानी बिना ३ तिन दिन हो गइल नहईला, नेतालोग कहता कि एह टोला में भोट नईखे” – यो आरोप वीरगंजवासी को हो।
शासन र जनप्रतिनिधित्वको अर्थ केवल मतदातासँग सीमित रहनु हुँदैन। वीरगंज महानगर जस्तो ऐतिहासिक र आर्थिक दृष्टिले महत्वपूर्ण सहरले आफ्नो अस्तित्व र विकासका लागि हजारौं मानिसहरूको श्रम, ज्ञान र योगदान लिएको छ। यहाँ बसोबास गर्ने सबै नागरिक, चाहे उनीहरू स्थायी मतदाता हुन् वा अस्थायी बासिन्दा, सबैले वीरगंजको समाज र अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।
हालै वीरगंजका विभिन्न वडामा बसोबास गर्ने केही नागरिकहरूले गम्भीर गुनासो सार्वजनिक गरेका छन्। उनीहरू भन्छन्— ‘हामी मतदाता होइनौं भनेर जनप्रतिनिधिहरूले हामीलाई उपेक्षा गर्छन्। हामीलाई नगरको आधारभूत सुविधा, विशेष गरी जीवनका लागि अत्यन्तै आवश्यक पानी जस्तो सेवा पनि उपलब्ध गराउन बेवास्ता गरिएको छ।’
यो गुनासो केवल व्यक्तिगत समस्या होइन, यो शासन व्यवस्थाको सोच र दृष्टिकोणमा रहेको कमजोरीको सङ्केत हो। वीरगंज जस्तो सहर, जहाँ देशका विभिन्न भागबाट आएका मानिसहरू रोजगारी, शिक्षा, व्यवसाय वा अन्य कारणले बसोबास गर्छन्, त्यहाँ मतदाता र बासिन्दाबीच विभेद गर्नु अन्याय मात्र होइन, मानवताको अपमान हो।
हुन त, वीरगंज जस्तो सहर केवल यहाँ जन्मिएका वा बसोबास दर्ता गरेका मतदाताको कारणले बनेको होइन। देशका विभिन्न भागबाट आएका कामदार, शिक्षक, व्यापारी, विद्यार्थी, डाक्टर, इन्जिनियर र किसान लगायत सबैको योगदानले यो सहर जीवित र गतिशील छ। उनीहरूले यहाँ घर भाडा तिर्छन्, पसलबाट सामान किन्छन्, सेवामा कर तिर्छन्, यातायात प्रयोग गर्छन्।
उदाहरणका लागि कुनै विद्यार्थी वीरगंजमा आएर शिक्षालयमा भर्ना हुन्छ। उसले तिरेको शुल्कबाट त्यो संस्थाले सरकारलाई कर तिर्छ। उसले किनेको कापी, कलम, किताब र खाजाबाट व्यवसायीले पनि कर तिर्छ। यो कर वीरगंज महानगरभित्रै खर्च हुन्छ। यसैगरी, कुनै कामदारले मजदुरी गरेर कमाएको पैसाले घर भाडा तिर्छ, खाना खान्छ, लत्ताकपडा किन्छ— त्यसबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सरकारको ढुकुटी भरिन्छ।
मतदाता सूचीमा नाम नहुँदा उनले राजनैतिक मत दिन सक्दैनन् होला, तर आर्थिक, सामाजिक र सांस्कृतिक योगदान त निरन्तर दिइरहेका हुन्छन्। वीरगंज सहरको आर्थिक चक्र चलायमान गर्नुमा उनीहरूको पनि भूमिका छ भन्ने कुरा बिर्सनु हुँदैन। त्यसैले जनप्रतिनिधिहरूको दायित्व केवल मतदाताको सेवामा सीमित हुनु हुँदैन, बरु आफ्नो क्षेत्रमा बसोबास गर्ने प्रत्येक व्यक्तिको जीवनस्तर सुधार गर्नु उनीहरूको कर्तव्य हो।
आज वीरगंज महानगर बन्नुमा मतदाता र गैरमतदाता, यी सबै नागरिकहरूको योगदान छ। कुनै समय वीरगंज केवल एउटा सीमित बजार थियो। तर, यहाँ मानिसहरूको आगमन, स्थायी र अस्थायी बसोबास, व्यापारिक गतिविधि र सामाजिक क्रियाकलापले वीरगंजलाई विस्तार गर्यो। त्यसैले वीरगंज कुनै एउटा जात, वर्ग, वा स्थान विशेषका मतदाताबाट मात्र बनेको होइन, सम्पूर्ण नागरिकहरूको योगदानले बनेको शहर समयक्रमसँगै महानगरमा परिणत भएको हो।
अझ गम्भीर कुरा त के हो भने, पानीजस्तो आधारभूत सेवा जनप्रतिनिधिहरूको दायित्वभित्र पर्ने पहिलो प्राथमिकता हो। पानी जीवनको आधार हो। जीवन नै हुँदैन भने मतदाता पनि हुँदैनन्। त्यसैले जनतालाई पानी उपलब्ध गराउनु जनप्रतिनिधिको नैतिक र कानूनी जिम्मेवारी हो। मतदाता नभएको भन्दै पानी जस्तो जीवन रक्षाका लागि आवश्यक सेवामा विभेद गर्नु अमानवीय हर्कत हो।
हामीले बुझ्नुपर्छ, वीरगंज कुनै सानो गाउँ होइन, जहाँ सबैले एक अर्कालाई चिन्छन्। यो एउटा महानगर हो, जहाँ विविध समुदाय, वर्ग र पेशाका मानिसहरू सहअस्तित्वमा छन्। यहाँ आपसी सद्भाव, मानवता र सहभागिताको आधारमा सहर चल्नुपर्छ। केवल मतदाताको आधारमा सेवा दिने हो भने ती हजारौं मानिसहरू, जसले यहाँ आफ्नो पसिना बगाएका छन्, उनीहरूको श्रमको सम्मान कहाँ हुन्छ?
दुर्भाग्यवश, केही जनप्रतिनिधिहरू मत र सत्तालाई मात्रै प्राथमिकता दिन्छन्। उनीहरूलाई जीवनको मूल्यभन्दा चुनावी गणित ठूलो लाग्छ। तर साँचो नेतृत्व भनेको सबैको सेवा गर्नु हो— चाहे उनीहरूले आफूलाई भोट दिउन् वा नदिउन्।
अहिले वीरगंजका केही नागरिकहरूले पानीको अभावमा जीवन कठिन भएको गुनासो गरेका छन्। यो गुनासो सुन्दा एक पटक सोच्नुपर्छ— मानव जीवन बचाउनु जरुरी छ कि चुनावको गणित जित्न? यदि नागरिकले पानीको अभावमा पीडा भोग्नुपर्छ भने त्यो जनप्रतिनिधिको असफलता हो। यस्तो पीडाबाट बच्न उनीहरूले आवाज उठाएका छन्, भलै त्यसको परिणाम स्वरूप जनप्रतिनिधिको रिसको शिकार हुने डर उनीहरूलाई होला।
तर जब जीवन नै सङ्कटमा हुन्छ, तब डरभन्दा पनि समाधान खोज्नु प्राथमिक हुन्छ। यो अवस्थामा वीरगंजका ती बासिन्दाहरूले आफ्नो पीडा सार्वजनिक गर्नु केवल अधिकारको माग हो, कुनै विद्रोह होइन।
हामीले इतिहास हेर्ने हो भने कुनै पनि शहर केवल स्थानीय मतदाताले मात्रै चलाएको हुँदैन। सहरको विकास विभिन्न ठाउँबाट आएका मानिसहरूको श्रम र लगानीले हुन्छ। वीरगंजको बजारमा दैनिक व्यापार गर्ने व्यापारी, होटलमा बसेर खाना खाने पर्यटक, शिक्षा लिन आएका विद्यार्थी, स्वास्थ्य उपचार गर्न आएका बिरामी— सबै वीरगंजको अर्थतन्त्रलाई चलायमान बनाउने हिस्सा हुन्।
त्यसैले, वीरगंज महानगरका जनप्रतिनिधिहरूले अहिलेको अवस्थालाई गम्भीर रूपमा लिनुपर्छ। मतदाता नभएका नागरिकलाई उपेक्षा गर्नु केवल उनीहरूलाई हैन, वीरगंज महानगरलाई नै कमजोर बनाउनु हो। यदि पानी जस्तो आधारभूत आवश्यकता पूरा गर्न सक्दैन भने त्यसले वीरगंज महानगरको छवि र सामाजिक समावेशीतामा प्रश्न उठाउँछ।
अन्त्यमा— वीरगंज सबैको सहर हो। यहाँ बसोबास गर्ने प्रत्येक नागरिक, चाहे उनी मतदाता हुन् वा नहुन्, वीरगंजको अङ्ग हुन्। उनीहरूको समस्या समाधान गर्नु जनप्रतिनिधिको पवित्र जिम्मेवारी हो। साँचो नेतृत्व भनेको सबैलाई साथ लिएर अघि बढ्नु हो, केहीलाई मात्र हेरेर शासन गर्नु होइन।

























