वीरगंज, २६ साउन — अनलाइनखबरले सार्वजनिक गरेको “४० वर्षमुनिका ४० प्रभावशाली युवा” सूचीमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–महुवन निवासी पिस फर दलित फाउन्डेसनका संस्थापक, समाजिक अभियन्ता तथा शिक्षक मनोज राम सम्मानित भएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर समाजमा सकारात्मक परिवर्तन ल्याउँदै आएका युवाहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको यो कार्यक्रम यस वर्ष राजधानीमा विशेष समारोहसहित सम्पन्न भएको हो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका ४० जना युवाहरूलाई सम्मानपत्र र पुरस्कार प्रदान गरेका थिए।

दलित समुदायको अधिकार, शिक्षामा समान पहुँच र सामाजिक न्यायका लागि लामो समयदेखि सक्रिय रहेका मनोज रामको योगदान यसपटक राष्ट्रिय स्तरमा चिनिएको छ। गाउँदेखि सहरसम्म चेतना फैलाउँदै आएका उनले प्राप्त गरेको यो सम्मानले पर्सा मात्र होइन, देशभरका युवाहरूमा प्रेरणा थपेको छ।

“अँध्यारोबीचमा तिनै जुनकिरीहरू खोज्ने” मूलभावसहित गरिएको यो अभियानले निरन्तर परिवर्तनका लागि लागिपर्ने युवाशक्तिलाई हौसला दिएको मनोजले बताए।

यसअघि पनि मनोज राम विभिन्न सम्मान प्राप्त गरिसकेका छन्। दलित अधिकारका क्षेत्रमा योगदान पुर्‍याएबापत उनले राष्ट्रिय स्तरको भीममाया स्मृति पुरस्कार पाएका छन्। त्यस्तै, पर्सा मिलन केन्द्र काठमाडौं र गण्डकी प्रदेशअन्तर्गत मिजार समुदायबाट पनि उनी सम्मानित भएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here