वीरगंज खानेपानी परीक्षण
तस्वीर श्रोत : वीरगंज महानगरपालिका

वीरगंज​, १० भदौ ​ वीरगंज महानगरपालिकाले पछिल्ला दिनमा तीव्र बनेको झाडापखाला तथा हैजा ​सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्नै प्रयोगशालाबाट खानेपानी परीक्षण सुरु गरेको छ। दूषित पानी नै रोग फैलनुको मुख्य कारण हुनसक्ने आशंकामा महानगरले नमुना ​सङ्कलन गरी प्रयोगशालामा परीक्षणको प्रक्रिया अघि बढाएको हो।

महानगर प्रमुख राजेशमान सिंहका अनुसार सोम​वारदेखि वडा नं १०, ११ र १२ का विभिन्न पाँच स्थानका धाराबाट पानीको नमूना ​सङ्कलन गरिएको छ। माइक्रोबायोलोजिष्ट अजय मण्डल र वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले संकास्पद क्षेत्रका धाराबाट नमुना ​सङ्कलन गरी परीक्षणलाई तीव्रता दिएको छ।

विज्ञापन

खानेपानी प्रशोधन केन्द्र वडा नं १, छपकैयामा स्थापना गरिएको आधुनिक प्रयोगशालामा E. Coli परीक्षण गर्ने सुविधा मिलाइएको छ। साथै युनिसेफले उपलब्ध गराएको विशेष किट प्रयोग गरी कोलिफर्म परीक्षण पनि सुरु भएको छ। प्रारम्भिक E. Coli परीक्षणको नतिजा २४ घण्टामा प्राप्त हुने र विस्तृत कोलिफर्म परीक्षण रिपोर्ट पाउन करिब ७२ घण्टा लाग्ने मण्डलले जानकारी दिए।

“समयमै नतिजा आएपछि कुन क्षेत्रमा दूषित पानी प्रवाह भइरहेको छ भन्ने तुरुन्त थाहा हुन्छ, जसअनुसार आवश्यक कदम चाल्न सजिलो हुन्छ,” मण्डलले भने।

​सङ्क्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिँदै महानगर प्रमुख सिंहले सुरक्षित खानेपानी नै हालको मुख्य आवश्यकता भएको बताए। उनका अनुसार, वासिन्दालाई शुद्ध र सुरक्षित पानी उपलब्ध गराउने उद्देश्यले महानगरले आफ्नै स्तरबाट परीक्षण सुरु गरेको हो।

हाल प्रभावित क्षेत्रका धारालाई प्राथमिकता दिँदै नमूना परीक्षण भइरहेको छ। तर, आवश्यकता अनुसार अन्य संकास्पद स्थानबाट पनि पानी ​सङ्कलन गरी परीक्षण गर्ने तयारी महानगरले गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here