काठमाडौं — हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस प्रभावका कारण आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। अन्य क्षेत्रहरूमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र अन्य पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
आज राति पनि यस्तै मौसमी अवस्था रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली रहने र केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।
उच्च पहाडी तथा हिमाली भेगमा यात्रा वा क्रियाकलाप गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

























