
काठमाडौँ, २० जेठ – भारतको पूर्वोत्तर राज्य सिक्किममा आइतबार साँझको भीषण वर्षापछि आएको पहिरोले सैनिक क्याम्प बगाउँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना सैनिक अझै बेपत्ता छन्। उत्तरी सिक्किमको छातेनस्थित नेपाली सिमानानजिकैको सैनिक क्याम्पमा आएको पहिरोले पुलहरू पनि भत्काउँदा सडक सञ्जाल अवरुद्ध भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
घटनाको २४ घण्टा वितिसक्दासमेत हराइरहेका सैनिकहरूको खोजी कार्य जारी छ। सीमा सडक बलले लेदो हटाएर सडक खुलाए तापनि बाढीपहिरोका कारण जनजीवन निकै प्रभावित भएको छ। मन्गन जिल्लाको लाचेन, लाचुङजस्ता प्रमुख पर्यटकीय क्षेत्रहरूमा १५ सयजति पर्यटक अलपत्र परेका छन्, जसमध्ये सयभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।
मनसुनको प्रारम्भसँगै सिक्किमसहित असम, अरुणाचल प्रदेश, मेघालय, मिजोराम र नागाल्यान्डमा बाढीपहिरोले हालसम्म ३२ जनाको मृत्यु भएको छ। दक्षिण भारतबाट सुरु भएको मनसुन अहिले पूर्वोत्तर क्षेत्रमा केन्द्रित भएको छ र लगातारको वर्षाले जनधनमा ठूलो क्षति पुर्याएको छ।
असमको श्रीभूमि जिल्लामा कुसियरा नदीको पानीको सतह बढेर आएको बाढीले दुई जनाको मृत्यु भएको छ। बंगलादेशसँगको सीमावर्ती क्षेत्रमा पर्ने यस जिल्लाका ३ सयभन्दा बढी गाउँका ४० हजारभन्दा बढी बासिन्दा प्रभावित भएका छन्। बाढीपीडितलाई सुरक्षित स्थानमा सारेर अस्थायी शिविरमा राखिएको छ।
असम राज्यमा मात्रै १९ जिल्लाका ३ लाख ६४ हजारभन्दा बढी मानिस प्रभावित छन् भने ७५८ गाउँहरू डुबानमा परेका छन्। मनिपुरमा पनि १९ हजारभन्दा बढी मानिस प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। तीन हजार घरहरूमा क्षति पुगेको विवरण पनि सार्वजनिक भएको छ।
यसैबीच भारतको मौसम विभागले असम र मेघालयमा आगामी दिनहरूमा अति भारी वर्षाको सम्भावना रहेकाले ‘रेड अलर्ट’ जारी गरेको छ। नागाल्यान्ड, मिजोराम, त्रिपुरा, मनिपुर, अरुणाचल प्रदेश, पश्चिम बंगाल, सिक्किम र उत्तराखण्डमा पनि अत्यधिक वर्षाको सम्भावनाबारे सतर्क रहन आग्रह गरिएको छ।
























